काठमाडौं । कुमारी बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । एनसीसी बैंकसँग एकीकृत कारोबार सुरु भएसँगै पुस १७ गतेदेखि १५ दिनसम्म बैंकको कारोबार बन्द हुन लागेको हो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा भएको ब्यबस्था बमोजिम बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको हो ।
बैंकले पुस १७ गतेबाट सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आग्रह गरेको छ।
त्यस्तै, एनसीसी बैंकले पनि आफ्नो सेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई आग्रह गरिसकेको छ। यी दुवै बैंकको सेयर कारोबार पुस १७ गतेदेखि १५ दिनका लागि रोक्का हुनेछ।
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को एकिकृत कारोबार पुस १७ गतेबाट सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले यी दुवै बैंकलाई गाभ्नको लागि पुस ६ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो।