लघुवित्त बैंकर्स संघ र लघुवित्तीय संस्था संघर्ष समितिबीच १२ बुँदे सहमति

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्तीय संस्था संघर्ष समितिबीच १२ बुँदे सहमति भएको छ । संघ र संघर्ष समितिले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा १२ बुँदे सहमति भएको जनाइएको हो ।

सहमतिसँगै संघर्षका कार्यक्रम स्थगित गरिएको सो अवसरमा जानकारी दिइयो । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई कालो सूचीमा परेका विस्थापित सदस्यको समस्या समाधान गर्न आवश्यक संयन्त्र बनाउने र ऋण तिर्न नसकेर आन्दोलनमा लागेका ऋणीको समस्या समाधानका निम्ति पहल गर्ने सहमति भएको छ ।

यस्तै लघुवित्त संस्थाले गर्ने लगानीलाई उत्पादनमा आधारित बनाइ किस्ता निर्धारण तथा व्यवसायजन्य लगानीको सुरक्षाका लागि बीमालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने सहमति भएको छ । यसैगरी कारोना भाइरसका कारण भएकोे बन्दाबन्दी र हालको आर्थिक मन्दीमा देखापरेको असहज स्थितिमा सञ्चालित स–साना व्यवसाय तथा कृषि पेसामा आवद्ध जनसमुदायमा परेको असर न्यूनीकरणका लागि लघुवित्त वित्तीय संस्थाको लगानीलाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गरिने, ऋणी सदस्यसँग कर्जा असूली गर्दा मानवीय र सम्मानजनक व्यवहार गर्दै स्वस्थ लघुवित्तसम्बन्धी अभ्यास कार्यान्वयन गर्नेजस्ता विषयमा सहमति भएको संघका महासचिव रामबहादुर यादवले बताए ।

उनले लघुवित्त वित्तीय संस्थाको प्रत्येक शाखाका पाँच विपन्न ग्राहक सदस्यका छोराछोरीलाई सरकारी आधारभूत तथा माध्यामिक तहसम्म अध्ययनका लागि छात्रवृत्ति व्यवस्था, कर्मचारी पदपूर्ति गर्दा ग्राहक सदस्यका छोराछोरीलाई योग्यता तथा क्षमताको आधारमा प्रथामिकता दिने निर्णयसमेत भएको बताए । पत्रकार सम्मेलनमा संघर्ष समितिका उपाध्यक्ष एलिमा मियाँले लघुवित्त बैंकर्सहरुले विद्यमान समस्या समाधान गर्दै लैजाने र ऋणीको समस्यासमेत समाधान गर्न पहल गर्ने गरी सहमति भएको बताए ।

समितिका महासचिव प्रेम विकले विगत आठ महिनादेखि चल्दै आएको आन्दोलन स्थगित भएको बताए । लघुवित्त संस्थाले ऋणीमा पारेको समस्याका कारण विसं २०७८ साल चैत २९ गते एक सय ५१ सदस्यीय संघर्ष समिति तयार गरी आन्दोलन गर्दै आएको थियो ।

पत्रकार सम्मेलनमा नेपाल लघुवित्त बैंकर्स संघका सल्लाहाकार वसन्त लम्सालले सात प्रतिशत हाराहारी खराब ऋणी रहेको जानकारी दिए । उनका अनुसार लघुवित्त संस्थामा अहिले ३३ लाख १३ हजार ऋणी रहेकामा पाँच लाख ७७ हजार नौ सय ८१ जनाको ऋणको भाखा नाघेको र तीमध्ये धेरै ऋणीको ऋण थोरै मात्र रहेको छ ।

संघका पूर्वकोषाध्यक्ष नुमनाथ पौडेलका अनुसार लघुवित्त संस्थामा अहिले समूह जवानीमा ८७ प्रतिशत ऋण लगानी र धितो जवानीमा १३ प्रतिशत ऋण लगानी भएको छ । समूहगत जवानीमा सात लाखसम्म र धितो लगानीमा १५ लाखसम्म ऋण लगानी भएको उनले बताए । लघुवित्त संस्थामा हालसम्म ६० लाख घरधुरी छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स