लाभांश वितरणमा नबिल अब्बल, विदेशी लगानीका बैंकले पनि बढाए लाभांश, ४ बैंकका लागनीकर्ता मारमा

काठमाडौं । आम लागनीकर्तालाई प्रतिफल दिनेमा नबिल बैंक अब्बल देखिएको छ । हालसम्म गत आवको संचित मुनाफाबाट सेयर लगानीकर्तालाई सबै भन्दा बढी लाभांश दिने बैकमा नबिल बैंक सूचीकृत भएको हो । हरेक बैंकिङ क्रियाकलापमा नम्बर वान बन्दै आएको बैंक यस वर्षपनि लाभांश बढी दिने बैंक बन्न सफल भएको छ ।

नबिल बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ११.५ प्रतिशत नगद र १८.५ प्रतिशत बोनस गरी कुल ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आउँनै बाँकी छ । बैंकले सो लाभांश वितरण गर्न पुस २९ गते साधारण सभा बोलाएको छ ।

आव २०७७/०७८ मा ३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश गरी ३८ प्रतिशत लाभांश वितरण नबिल बैंकले आव २०७८/०७९ मा भने लाभांश दर घटाएर ३० प्रतिशत मात्रै दिदैछ ।

यस वर्ष बोनस सेयर नै लाभांश घोषणा गरेका बैंकहरुले पनि लाभांश दरलाई घटाएर १० प्रतिशतमा सीमित गरेका छन् । एभरेष्ट बैंकले १३ प्रतिशत, सिद्धार्थ बैंकले १२ प्रतिशत र सानिमा बैंकले १० प्रतिशतबाहेक अन्य सबै बैंकले एकल अंकमा बोनस सेयर लाभांश घोषणा गरेका छन् ।

यस वर्ष हिमालयन बैकले ८ प्रतिशत, प्रभु बैंकले साँढे ६ प्रतिशत, बैक अफ काठमाण्डूले ६ प्रतिशत, सिभिल बैंकले ५ प्रतिशत, सेन्चुरी बैंकले ४.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत रहेको छ । मेगा बैंकले ४ प्रतिशत, नेपाल क्रेडिट एन्ड कमर्स बैंकले ३.३७ प्रतिशत, ग्लोबल आईएमई बैंकले ३ प्रतिशत, नेपाल एसबीआई बैंकले ३ प्रतिशत र सबैभन्दा कम नेपाल बैंकले २ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेका छन् ।

बैंकहरूले अघिले आवको तुलनामा गत आवमा नगद लाभांशको अंश बढी देखिएको छ । नगद लाभांशमा स्टान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी १६.५१ प्रतिशत लाभांश घोषणा गरेको छ भने दोस्रोमा नबिल बैंकले ११.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

लाभांश दर बढाउने बैंकहरूमा भने विदेशी लगानीमा सञ्चालित बैंकहरू अगाडि देखिएका छन् । अघिल्लो आवमा नगद र बोनस सेयर गरी १०.३२ प्रतिशत लाभांश बाँडेको एभरेष्ट बैंकले गत आवको संचित मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र ७.७८ प्रतिशत नगद लाभांश गरी २०.६८ प्रतिशत लाभांश दिएको छ । बैंकले दिएको लाभांश अघिल्लो आवकोभन्दा शतप्रतिशत बढी हो ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये कृषि विकास बैंकले राष्ट्र बैंकको वित्तीय विवरण पेश गरेको छैन भने वित्तीय विवरण पेश गर्ने २४ वटा वाणिज्य बैंकको वित्तीय विवरण पास भईसकेको हो । सोमध्ये एनआईसी एशिया लक्ष्मी बैंक, सनराईज बैंक र माछापुच्छ्रे बैंकले लाभांश घोषणा नगर्ने निर्णय गरिसकेका छन् राष्ट्रिय वाणिज्य बैंकको वित्तीय विवरण पास हुने चरणमा नै छ ।

बढी प्रतिफल दिनेमा विदेशी लगानीका बैंक
विदेशी लगानीमै स्थापित नेपाल एसबीआई बैंकले अघिल्लो वर्ष साढे ३ प्रतिशत बोनस सेयर र १.८१ नगद लाभांश गरेर ५.३१ प्रतिशत मात्रै लाभांश वितरण गरेकोमा अहिले भने ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश गरेर १०.५३ प्रतिशत लाभांश वितरण छ ।

विदेशी लगानीमै स्थापित स्टाण्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्ष १३.०६ प्रतिशत लाभांश बाँडेकोमा गत वर्ष १६.५१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो अघिल्लो आवको तुलनामा २६.५१ प्रतिशत बढी हो ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई कुल २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र सोको करप्रयोजनार्थ सहित ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने गरिसकेको हो । बैंकले गत मंसिर २६ गते आफ्नो २८औं वार्षिक साधारण सभामार्फत् घोषित लाभांश पारित गरी सेयरधनीको खातामा पठाएको हो ।

कुन बैंकको कति लाभांश ?

सिटिजन्स बैंकः गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकले हाल कायम १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ चुक्ता पुँजीको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गरेको हो । सो लाभांश बैंकको कात्तिक ४ गते बसेको १६औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण भएको हो ।

सेञ्चुरी कर्मसियल बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ०.२५ नगद लाभांश र ४.७५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ भने, लाभांश वितरण प्रस्ताव पारितको लागि बैंकले पुस १२ गते वार्षिक साधारण सभा बोलाएको छ ।

ग्लोबल आइएमईः बैंकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १३.६ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.६ प्रतिशत नगद लाभांश वितरण गरिसकेको हो । बैंकले गत मंसिर २३ गते आफ्नो १६औं वार्षिक साधारण सभामार्फत् घोषित लाभांश पारित गरी सेयरधनीको खातामा पठाएको हो ।

एनएमबि बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ८.२५ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ भने, लाभांश वितरण प्रस्ताव पारितको लागि बैंकले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रभु बैंकः बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट कुल ८ लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइसकेको छ भने, लाभांश प्रस्ताव पारितको लागि बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

मेगा बैंकः बैंकले गत आवको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ७.८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांशमा हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति भइसकेको छ भने, लाभांश प्रस्ताव पारितको लागि बैंकले पुस ७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सिभिल बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ०.२५ प्रतिशत नगद र ५ प्रतिशत बोनश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आउँनै बाँकी छ । सोही कारणले बैंकले साधारण सभाको मिति तय गरेको छैन ।

नेपाल इन्भेष्टमेण्ट बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ७ प्रतिशत बोनश र ४ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ भने, लाभांश वितरण प्रस्ताव पारितको लागि बैंकले पुस ७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

एनसीसी बैंकः बैंकले गत आवको मुनाफाबाट आफ्ना लगानीकर्तालाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जुन राष्ट्र बैंकको स्वीकृत लिएर सेयरधनीको खातामा समेत पठाइसकेको छ । बैंकको मंसिर २ गते बसेको २५औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरी सेयरधनीको खातामा पठाएको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गरेको हो ।

स्टाण्डर्ड चार्टर्ड बैंकः बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुत्ता पुँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गरिसकेको हो । बैंकले गत मंसिर २५ गते आफ्नो ३६ औं वार्षिक साधारण सभामार्फत् घोषित लाभांश पारित गरी सेयरधनीको खातामा पठाएको हो ।

नेपाल एसबिआई बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ७.५३ प्रतिशत बोनश र ३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ भने, लाभांश वितरण प्रस्ताव पारितको लागि बैंकले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सिद्धार्थ बैंकः सिद्धार्थ बैंकले अघिल्लो वर्ष १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गरेकोमा गत आवमा भने १२.५० प्रतिशत बोनस र ०.६६ प्रतिशत नगद लाभांश गरी १३.१६ प्रतिशत मात्रै लाभांश बाँडने भएको छ ।

प्राइम कर्मसियल बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ४.९५ प्रतिशत नगद र ४ प्रतिशत बोनश गरी कुल ८.९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आउँनै बाँकी छ । सोही कारणले बैंकले साधारण सभाको मिति तय गरेको छैन ।

सानिमा बैंकः अघिल्लो वर्ष १७ प्रतिशत बोनस सेयर त्यसमा लाग्ने करसहित १७.८९ प्रतिशत लाभांश बाँडेको सानिमा बैकको लाभांश दर घटेर गत वर्ष १० प्रतिशतमा झरेको छ । बैंकले यस वर्ष पनि बोनस सेयर नै दिए पनि लाभांश दरमा भने ३८.६२ प्रतिशतले गिरावट आएको छ ।

बैंक अफ काठमाण्डूः बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश गरी कुल २०.९५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत मंसिर २३ गते नै २८औं वार्षिक साधारण सम्पन्न गरिसकेको हो ।

कुमारी बैंकः बैंकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट कुल १२.५० प्रतिशत नगद लाभांश वितरण गरिसकेको हो । बैंकले गत मंसिर २१ गते आफ्नो २१औं वार्षिक साधारण सभामार्फत् घोषित लाभांश पारित गरी सेयरधनीको खातामा पठाएको हो ।

नेपाल बैंकः बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत नगद र २ प्रतिशत बोनश गरी कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आउँनै बाँकी छ । सोही कारणले बैंकले साधारण सभाको मिति तय गरेको छैन ।

४ बैंकले लाभांश वितरण नगर्ने
आव २०७७/०७८ को लाभांश घोषणा गर्दा अधिकांशले बोनस सेयर र कर प्रयोजनको लागि थोरै मात्रै नगद लाभांश घोषणा गरेका थिए भने आव २०७८÷०७९ को लाभांश घोषणा गर्दा धेरैले नगद लाभांशलाई नै प्राथमिकतामा राखेका छन् ।

हालसम्म ४ वटा बैंकले लाभांश नदिने घोषणा गरेका छन् । यसपटक एनआईसी एशिया बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र माछापुच्छे बैंकले लाभांश नदिने घोषणा गरेका छन् । राष्ट्र बैंकको प्रावधानअनुसार पुँजी कोष टाइट भएका बैंकहरूले यस वर्ष लाभांश नबाँडेका हुन । गत वर्ष लाभांश नबाँडेको एनआईसी एसियाले पनि यस वर्ष लाभांश नबाँड्ने भएको छ ।

नगद लाभांशमात्रै दिने ४ बैंक
हालसम्म लाभांश वितरण गरेका वा गर्ने तयारीमा रहेका बैंकहरूमध्ये ४ वटा बैंकले नगद लाभांश मात्रै दिने निर्णय गरेका छन् । विगतमा नगद लाभांश र बोनस सेयर लाभांशको उपयुक्त मिश्रणबाट लाभांश घोषणा गर्ने गरेका यी बैंकहरुले यसपटक भने नगद लाभांश मात्रै दिने निर्णय गरेका हुन । गत वर्ष बैंकहरुको व्यवसाय विस्तार सोचे अनुरुप नभएका कारण बैंकहरुले नगद लाभांशमै जोड दिएको बैंकका अधिकारीहरु बताउँछन् ।

यसपटक नेपाल राष्ट्र बैंकले पनि घोषित लाभांशको ३० प्रतिशत मात्रै नगद लाभांश दिन सकिने प्रावधान खारेज गरेकाले पनि बैंकहरू नगद लाभांश बाँड्न उत्साहित भएको तिनीहरुले बताए । गत आवको संचित नाफाबाट लाभांश घोषणा गरेका बैंकहरूमध्ये स्टाण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र एनएमबी बैंकले नगद लाभांश मात्रै घोषणा गरेका छन् ।

लाभांश वितरणमा यस्तो छ नीतिगत व्यवस्था
कोभिड संक्रमणको समयमा बैंकबाट नगद बाहिर नजाओस् भनेर राष्ट्र बैंकले नै बैंकहरूलाई बोनस सेयर लाभांश दिन निर्देशन दियो । बैंकहरुले लाभांश दिँदा त्यसमा ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन सकिने प्रावधान ल्याइयो । राष्ट्र बैंकको बाध्यकारी व्यवस्थापछि प्रायः सबै बैंकले आफ्नो गच्छे अनुसार बोनस सेयर दिए पनि गत वर्षको नाफाबाट भने यसवर्ष धेरैले नगद लाभांशमा जोड दिएका छन् भने बोनस सेयर लाभांशलाई कम प्राथमिकतामा राखेको गत आवको लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुको नगद र बोनस लाभांशको संरचनाले स्पष्ट पार्दछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स