काठमाडौं । सनराइज बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको लाभांश नदिने निर्णय गरेको हो । योसँगै सनराइज बैंकका सेयरधनीहरूको हात खाली हुने भएको छ । सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷०७९ को वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
सनराइज बैंकले जस्तै लक्ष्मी बैंकले पनि गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।
बैंकको सूचनामा भनिएको छ ’उपर्युक्त विषयमा यस सनरााइज बैंक लिमिटेडको संचालक समितिको मिति २०७९/०८/२५ गते दिउँसो ३ः३० देखि ४ः३० बजेसम्म बसेको ४०४औं बैठकले २०७९ असार मसान्त सम्मको संचित मुनाफा तथा आव २०७८/ ०७९ को मुनाफा रकमबाट बैंकका सेयरधनीहरूलाई नगद लाभांश÷बोनस सेयर वितरण नगर्ने तथा बैंकको आव २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण÷अनुसूचीहरू नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात् बैंकको अगामी वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने निर्णय भएकोले सो व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं ।’