३५ लाख आम नागरिकलाई बिना धितो ३ खर्ब ऋण दिइरहेका छौंः प्रकाशराज शर्मा

काठमाडौं । देशको कुना–कुनासम्म वित्तीय साक्षरता पुर्याउने अझ भन्नु पर्दा साहुकारको चर्को ब्याजबाट आम नागरिकलाई छुटकारा गराउने सुनौलो कामको शुभारम्भ लघुवित्त वित्तीय संस्थाबाट भएको हो । लघुवित्तकै कारण धेरै ऋणीहरूले साहुकारबाट ऋण लिनुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् ।

दूरदराजमा वित्तीय पहुँच पुर्याउने यस्ता लघुवित्तहरूको पर्फमेन्स पछिल्लो समय केहि खस्किदै गएको छ । लघुवित्तको सेवालाई खस्काउने केहि काम लघुवित्त कर्मीबाटै भयो भने केहि ऋणीबाट भएको हो । आफूलाई लघुवित्त पीडित भन्नेहरूले संघर्ष समिति नै बनाएर सडकमा उत्रिए । उनीहरूले लघुवित्तले गरिबलाई शोषण गर्यो भन्ने आरोप लगाए । यो आशिक रुपमा सत्य पनि हो । कुनै लघुवित्तले थोरै समयका लागि कर्जा दिएर पटक पटक सेवा शुल्क असुल्ने गरेका छन् । त्यसैले त त्यस्ता लघुवित्तलाई राष्ट्र बैंकले कारवाही स्वरुप डण्ड चलायो, बढी लिएको सेवा शुल्क फिर्ता गर भनेर ।

बैंक तथा वित्तीय संंस्था स्वयम्ले लगानीयोग्य पुँजी नभएको समस्या झेलिरहेको यो अवस्था त्यहि बैंकबाट कर्जा लिएर सञ्चालन हुने लघुवित्त समस्या नपर्ने त कुरै भएन । बैंकबाट १०/११ प्रतिशतमा कर्जा लिएर १५ प्रतिशतमा कर्जा प्रवाह गर्न लघुवित्तहरूलाई अझ सकस भएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा बताउँछन् ।

उनले भने ‘समग्रमा अहिलको समस्या लघुवित्तको मात्र नभएर बैंकिङ क्षेत्रकै समस्या हो । कोभिड पछि विभिन्न कारणले तरलताको अभाव सिर्जना भएको छ । लघुवित्तको मुख्य स्रोतको मुहानमा नै समस्या आएपछि लघुवित्तहरू अप्ठ्यारोमा परेको उनको भनाइ छ ।

ग्राहकहरूमा आर्थिक रुपमा परेको प्रभावले गर्दा कर्जाको गुणस्तर खस्केको अवस्था छ । लघुवित्तका कतिपय ग्राहक तथा लघुवित्तका सदस्यहरू कर्जा तिर्न सक्ने अवस्थामा छैनन् भने कसैले सकेर पनि नतिरको अवस्था छ । सोही कारण साउन २४ यता ९७ लघुवित्तका ऋणीहरू कर्जा सूचना केन्द्रको कालोसूचीमा परिसकेका छन् ।

लघुवित्तका सीईओहरूले फैलाई धितोमा राखेर बैंकहरूबाट पैसा लिने र बिना धितो ग्रामीण क्षेत्रमा समूह गठन गरेर लगानी गर्ने गरेको पनि उनले बताए । ‘अहिले लघुवित्तहरूको लगानी करिब ४ खर्ब छ त्यसको ८२ प्रतिशत अर्थात करिब ३ खर्ब रुपैयाँ त बिना धितो नै लगानी भएको छ। यो काम सानो रिक्सको काम होइन ।’

पछिल्लो समय लघुवित्त कम्पनीहरू खारेज गरिनुपर्छ भन्दै केहि समुहहरू सडकमै आएका छन्, त्यो विषय नबुझ्नुको परिणाम भएको उनको बुझाइ छ । नियामक र सरकारले पनि यसबारेमा चनाखो हुन आवश्यक देख्छु । बिना धितो ऋण लिने अनि तिर्न छाडेर सडकमा आउने कुरा कति ठिक हो, उनले प्रतिप्रश्न गरे ।

‘यो लघुवित्तले शोषण गर्यो भनेर बदनाम गर्न खोजियो, उनले दुखेसो पोखे ‘ ऋणीहरुलाई दुःख दिने, शोषण गर्ने भन्ने कुरै हुँदैन, हामीले कसरी शोषण गर्न सक्छौं लघुवित्त पनि राष्ट्र बैंकको नीति नियम अनुसार सञ्चालन हुने संस्था हो । राष्ट्र बैंकको नीति नियम लघुवित्तहरूले मान्नु पर्छ ।’

जे जे भएपनि माइक्रोफाइनान्सहरूमा हाल देखिएको समस्या दीर्घकालीन नभइ अल्पकालीन भएको पनि उनले उल्लेख गरे । ‘यो संकट अल्पकालीन परिस्थिति हो जस्तो लाग्छ,’ ‘राजनीतिक अस्थिरता, चुनावको कारणले राजनीतिक लाभ लिनका लागि लघुवित्तहरूका विरुद्ध षडयन्त्र गरिएको हो ।’

लघुवित्तले बढी लाभांश दिए भनने प्रश्नमा उनले भने ‘बजारमा लघुवित्तहरू नाफाखोर हुन्, लाभांश धेरै बाँड्यो भन्ने कुराहरू आएको साँचो हो । गत वर्ष राष्ट्र बैंकबाट २० प्रतिशतभन्दा माथि लाभांश दिनका लागि घोषित लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा राख्नु पर्ने नीति आयो । अहिले त्यो खुला भएको छ । गत वर्ष चुक्ता पुँजीको ३० प्रतिशत भन्दा बढी लाभांश नदिने भन्ने नियम थियो । ५ प्रतिशत भन्दा कम हुन्छ भने त्यसलाई कर प्रयोजनका लागि मात्रै दिने भन्ने व्यवस्था थियो ।

त्यसमा लघुवित्तले २० प्रतिशत भन्दा बढी लाभांश वितरण नगरुन भन्ने राष्ट्र बैंकले मनसाय राखेको पक्कै हो । अहिले २० प्रतिशत भन्दा बढी लाभांश दिनुपर्ने भएमा सोको ५० प्रतिशतले हुन आउने रकम साधारण जेगडा कोषमा राख्नुपर्नेछ । र बाँकी रकमको लाभांश वितरण गर्ने सुविधा छ ।

दोस्रो बजारमा छोटो समयका लागनीकर्तालाई पक्कै पनि असर पर्छ । तर, दिर्घकालिन लगानी गर्ने लगानीकर्ताहरूले यसबाट मनग्गै लाभ पाउन सक्छन् । दुई चार महिना सेयर होल्ड गर्ने भनेको आम साधारण लगानीकर्ताहरुले हो र यो व्यवस्थाले उनीहरुकै हित देखिन्छ । लामो समय लगानी गर्ने लगानीकर्ताहरुलाई केही असर गर्दैन् किन कि संस्था बलियो हुन्छ र लगानीकर्ताको प्रतिफल दोब्बर हुँदै जान्छ ।

लघुवित्तले ग्रामीण वस्तीमा सुरक्षित लगानी गर्छ भने लघुवित्तहरूले चुक्ता पुँजीको ३ गुणा बढीसम्म स्रोत परिचालन गर्न पाउने सुविधा राष्ट्र बैंकले दिएको पनि छ । वाणिज्य बैंक वा अन्य बैंकहरुको तुलनामा लघुवित्त ऋणी र ग्राहक संख्या पनि बढी भएको उनले बताए । अहिले वाणिज्य बैंकहरूको करिब १६ लाखको हाराहारी ऋणी छन् । हामी लघुवित्तहरूले ३५ लाख ग्रामीण नागरिकहरुलाई सेवा दिइरहेका छौं ।  यो भने वाणिज्य बैंकहरुको तुलनामा दोब्बर भन्दा पनि बढी हो । नियामकीय प्रवाधान र लघुवित्तहरूको कार्य क्षेत्रको प्रकृतिका आधारमै लघुवित्तले उच्च मुनाफा र प्रतिफल दिन सकेको अध्यक्ष शर्माले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स