काठमाडौं । अब विकास बैंक र फाइनान्स कम्पनीले पनि क्रेडिट कार्ड जारी गर्न सक्ने भएका छन् । राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन मार्फत विकास बैंक र फाइनान्स कम्पनीलाई डेविट, क्रेडिट र प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको हो ।
विकास बैंक तथा फाइनान्स कम्पनीहरुले लामो समय नियामक निकाय राष्ट्र बैंकसँग क्रेडिट कार्ड जारी गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । यस अघि वाणिज्य बैंकलेमात्रै क्रेडिट कार्ड जारी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
अहिले पनि नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी बाहेकका अन्य वित्तीय संस्थाले क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न सक्नछन् । फाइनान्स कम्पनी बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाले स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड मात्र जारी गर्न सक्नेछन् ।
यद्यपि बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिको नाममा एउटै प्रकारको कार्ड एक भन्दा बढी जारी गर्न नपाउने व्यवस्था गरेको छ । विद्युतीय भुक्तानी कार्ड जारी गर्दा संस्थाको सञ्चालक समितिबाट नीतिगत निर्णय, सुरक्षा तथा जोखिम व्यवस्थापन लगायतका व्यवस्था पूरा गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ ।
बैंक तथा वित्तीय संस्थाले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जना सम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने छ । कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि ग्राहकलाई एसएमएस मार्फत जानकारी गराउन समेत निर्देशन दिएको छ ।