राष्ट्र बैंकले गर्यो दैनिक तरलता सम्बन्धी कार्यविधि संशोधन, ओभरनाइट सुविधा समयसीमाभित्रै राफसाफ नगरे मौज्दातबाट असुल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि संशोधन गरेको छ । रााट्र बैंकले आरटीजीएस प्रणालीमा आबद्ध भएका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई दैनिक तरलता सुविधा (एसएलएफ)सम्बन्धी कार्यविधि संशोधन गर्दै विभिन्न नयाँ व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले कार्यविधिबमोजिम तोकिएको अवधिभित्र आफूले उपभोग गरेको ओभरनाइट सुविधा भुक्तानी गर्न नसकेमा राष्ट्र बैंकले संस्थाको नाममा राष्ट्र बैंकमा रहेको कुनै पनि खाताको मौज्दातबाट सम्पूर्ण भुक्तान हुन बाँकी (तिर्न बाँकी सुविधा रकम सो अवधिसम्मको ब्याज तथा हर्जना र नियमानुसार लाग्ने शुल्कलगायत रकमसमेत) रकम असुल गर्न सक्नेछ ।

संस्थाले चालु कार्यदिनको आरटीजीएस आईएलएफ रिर्टन्स् पिरियड भित्रको कुनै पनि समयमा अघिल्लो कार्यदिनमा उपयोग गरेको ओभरनाइट सुविधा राफसाफ गर्न नसकेमा अर्थात धितो व्यवस्थापन खाता पूर्णरुपमा शोधभर्ना गर्न नसकेमा धितो व्यवस्थापन खाताको कुल सीमाबाट अघिल्लो कार्यदिन उपयोग भएको ओभरनाइट सुविधा घटाइ बाँकी हुन आउने रकमलाई चालु कार्यदिनको लागि ओभरनाइट सुविधाको सीमा कायम गर्ने व्यवस्था गरेको हो । यस्तो सुविधा बैंक दरमा उपलव्ध गराइनेछ ।

तर, यसरी कायम हुन आएको सीमाभन्दा बढी ओभरनाइट सुविधा आवश्यक पर्ने भएमा उक्त सीमाबाट धितो व्यवस्थापन खाताको सीमासम्मको ओभरनाइट सुविधामा बैंक दरमा एक (१) प्रतिशत थप गरी अतिरिक्त ब्याज लगाइनेछ ।

उदाहरणको लागि संस्थाको धितो व्यवस्थापन खाताको कुल सीमा २० अर्ब छ, अघिल्लो कार्यदिन ओभरनाइट सुविधा १६ अर्ब उपयोग भएको छ, चालु कार्यदिनको आरटीजीएस आईएलएफ रिर्टन्स् पिरियड भित्रको कुनै पनि समयमा ओभरनाइट सुविधा शोधभर्ना हुन सकेको छैन भने चालु कार्यदिनको लागि ओभरनाइट सुविधाको सीमा ४ अर्ब कायम गरी सो सुविधा बैंक दरमा र उक्त सीमाबाट धितो व्यवस्थापन खाताको सीमासम्मको ओभरनाइट सुविधामा बैंक दरमा एक प्रतिशत थप गरी अतिरिक्त ब्याज लगाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

नयाँ व्यवस्था बमोजिम सहभागी बैंक तथा संस्थाले लगातार ३ कार्यदिनसम्म ओभरनाइट सुविधा राफसाफ गर्न नसकेमा तेस्रो कार्यदिनको आरटीजीएस आईएलएफ रिटर्न पिरियडमा कायम रहेको बक्यौता रकम अर्को कार्यदिनको १२ बजेभित्र नगदै भुक्तानी गर्नुपर्नेछ ।

नगदै भुक्तानी गर्न असमर्थ भएमा यस्तो बक्यौता रकमलाई ९० प्रतिशत बराबर मानी सोको आधारमा १०० प्रतिशत बराबरको थप सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागमा धरौटी राखी धितो व्यवस्थापन खातालाई बैंकले कायम गरिदिएको सीमामा ल्याउनुपर्ने छ । उक्त बक्यौता रकम भुक्तान नभएसम्म उक्त रकममा बैंक दरमा एक (१) प्रतिशत थप गरी अतिरिक्त ब्याज लगाइनेछ । यस्तो रकम भुक्तानी भएपश्चात् सीमाभन्दा बढीे धरौटीमा राखिएको सुरक्षणपत्र फुकुवा हुनेछ ।

यद्यपि नेपाल राष्ट्र बैंकले दैनिक तरलता उपभोग गरेर समयमा राफसाफ गर्न नसक्दा लाग्ने हर्जना भने घटाएको हो । बैंकले यसअघिको दोब्बर बैंकदरको व्यवस्थालाई हटाएर बैंकदरमा थप एक प्रतिशत अतिरिक्त व्याज लाग्ने व्यवस्था गरेको हो ।

असुली सम्बन्धी व्यवस्था
कुनै संस्थाले यस कार्यविधि बमोजिम तोकिएको अवधिभित्र आफूले उपयोग गरेको ओभरनाइट सुविधा भुक्तानी गर्न नसकेमा बैंकले संस्थाको नाममा यस बैंकमा रहेको कुनै पनि खाताको मौज्दातबाट सम्पूर्ण लेना रकम (तिर्न बाँकी सुविधा रकम, सो अवधिसम्मको ब्याज÷हर्जाना र नियमानुसार लाग्ने शुल्क लगायतका रकमसमेत) असुल गर्न सक्नेछ ।

यदि सो मौज्दातले सम्पूर्ण लेना रकम नथामेमा संस्थाले यस बैंकमा धरौटीमा राखेका सुरक्षणपत्र जफत गरी बैंकले आफ्नो स्वामित्वमा लिई वा बिक्री गरी असुल उपर गर्न सक्नेछ । साथै, यस्तो बक्यौता रकम पूर्णरुपमा फरफारक नभएसम्म संस्थाको धितो व्यवस्थापन खाता प्रचलित लेखा निर्देशिका तथा बैंकिंग कार्य निर्देशिका बमोजिम रोक्का राखी दैनिक तरलता सुविधा बन्द गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स