विद्युतीय कारोबार गर्न राष्ट्र बैंकको नयाँ नीति, कारोबारको सीमा दोब्बर

काठमाडौं। नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले आज मंगलबार एकीकृत निर्देशन–२०७८ जारी गरेर कारोबारको सीमा दोब्बर बनाएको हो ।

नियामक निकाय राष्ट्र बैंकले खाताबाट वालेट र वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार ५० हजार रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यो सीमा प्रतिकारोबार २५ हजार रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँसम्म गर्न सकिने व्यवस्था थियो ।

साथै निर्देशिकाले यसअघि वालेटमा अधिकतम २५ हजार रुपैयाँभन्दा बढी मौज्दात ओभरनाइट राख्न नपाइने व्यवस्थालाई बढाउँदै ५० हजार रुपैयाँ पुर्याएको छ । यो सीमा भन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देश गरेको छ । राष्ट्र बैंकले यो नयाँ गरेको हो ।

दिनमा १० पटकमात्रै पैसा जम्मा गर्न सकिने

राष्ट्र बैंकले प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा १० पटकसम्म मात्रै पैसा जम्मा गर्न सक्ने व्यवस्था पनि गरेकोे छ । यो नियम संस्थागत ग्राहक र एजेन्टबाहेकका प्राकृतिक व्यक्तिको हकमा मात्र लागू हुनेछ ।

एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यूआर कोड उपलब्ध गराउन सक्ने नयाँ व्यवस्था गरेको छ ।

तर, पान नम्बर नलिएका दैनिक ५ हजार रुपैयाँसम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति÷खुद्रा व्यापारीको हकमा आधिकारिक परिचयपत्रको आधारमा निजको नाममा मर्चेन्टको रुपमा क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ ।

कतिको कारोबार गर्दा कति लाग्छ शुल्क

एकीकृत निर्देशिकाले १०,००१ देखि माथिको कारोबार रकममा प्रति कारोबार अधिकतम सेवा शुल्क २० रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ ।

त्यसरी नै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोबाइल बैंकिङ मार्फत् विद्युतीय रकमान्तर इन्टर बैक फन्ड ट्रान्सफर (आइबीटीएफ) गर्दा ५० हजार रुपैयाँसम्ममा प्रति कारोबार अधिकतम सेवा शुल्क १० रुपैयाँ लिन सक्ने छन् ।

५०,००१ देखि १,००,००० सम्म प्रति कारोबार अधिकतम २० रुपैयाँ, १,००,००० भन्दा माथि प्रति कारोबार अधिकतम ३० रुपैयाँसम्म सेवा शुल्क तिर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

विद्युतीय कारोबारमा लिइने सेवा शुल्क सम्बन्धी विवरण प्रत्येक ६/६ महिनामा नियमित रुपमा वा शुल्क परिवर्तन भएको समयमा संस्थाको वेबसाइटमा प्रष्ट देखिने गरी राख्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

प्रिपेड कार्डबाट नगद झिक्ने सीमा घट्यो

राष्ट्र बैंकले प्रिपेड कार्डबाट नगद झिक्ने अधिकतम सीमा पनि घटाएको छ । प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार रुपैयाँ प्रतिदिन २० हजार रुपैयाँ र प्रतिमहिना दुई लाख रुपैयाँ तोकेको छ । यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँको सीमा तोकिएको थियो । यद्यपि प्रिपेड कार्डबाट प्रतिदिन र प्रतिमहिना भुक्तानी कारोबारको अधिकतम सीमा तोकेको थिएन।

सिष्टम अडिट गराउनु पर्ने

बैंक तथा वित्तीय संस्थाबाहेकले सेवा सञ्चालन गरेको १वर्ष पूरा भएपछि भुक्तानी प्रणालीको परीक्षण (सिस्टम अडिट) गराएर राष्ट्र बैंकमा त्यसको प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था गरेको छ । सिस्टम अपग्रेड नभएको अवस्थामा प्रत्येक २ आवमा सिस्टम अडिट गराएर आव समाप्त भएको ६ महिना भित्र राष्ट्र बैंकमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।

राष्ट्र बैंकले एटीएम नचलेमा, नगद पर्याप्त नभएमा, नगद ननिस्किएमा वा अन्य समस्या उत्पन्न भएमा तत्काल सोको सूचना सम्बन्धित एटीएम सञ्चालन गर्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स