१३ वाणिज्य बैंकले गरे लाभांश घोषणा, बाँकी १३ बैंकको क्षमता कति ?

काठमाडौं । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरूमध्ये १३ वटा बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरिसकेका छन् । बाँकी १३ वटा वाणिज्य बैंकहरू भने लाभांश घोषणा गर्ने तयारीमा छन् ।

गत आर्थिक वर्ष २०७८७९ को मुनाफाबाट नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा अधिकांशले नगद लाभांशलाई नै प्राथमिकता दिएका छन् । जसमा सबैभन्दा धेरै बैंक अफ काठमाण्डूले र सबैभन्दा थोरै मेगा बैंकले लाभांश घोषणा गरेको हो ।

लाभांश घोषणा गरेका बैंकमध्ये कुमारी बैंक, सिटिजन्स बैंक र एनसीसी बैंकको लाभांश साधारणसभाबाट समेत पारित भइसकेको छ । गत वर्षको मुनाफाबाट नेपाल इन्भेष्टमेण्ट, मेगा, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स, बैंक अफ काठमाण्डू, एनसीसी, कुमारी र प्रभु बैंक, सेन्चुरी, नपाल एसबिआई बैंकले लाभांश प्रस्ताव गरेका हुन् । स्ट्याण्डर्ड चार्टर्ड, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, ग्लोबल आइएमई र सानिमा बैंकको लाभांश वितरणको लागि साधारणसभाको मिति समेत तय गरिसकेका छन् ।

सेन्चुरी बैंक: बैंकको २०७९ असार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १९८.८९ रुपैयाँ हुन आउने रकम ४५ करोड ३८ लाख १० हजार ६८६.९५ रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

एसबिआई बैंक: बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ७.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रहेको छ ।

बैंक अफ काठमाण्डूः बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश गरी कुल २०.९५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको बोनस सेयर र १४.९५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद गरी कुल २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

एभरेष्ट बैंकः बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई कुल २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र सोको करप्रयोजनार्थ सहित ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँ रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकः बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरणा गर्नेर प्रस्ताव गरेको हो ।

ग्लोबल आइएमईः बैंकले आर्थिक वर्ष २०७८÷७९ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १३.६ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कुमारी बैंकः बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को सञ्चित मुनाफाबाट कुल १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश राष्ट्र बैंकबाट स्वीकृत लिएर बैंकले सेयरधनीमा वितरणको लागि वार्षिक साधारणसभा समेत बोलाइ सकेको छ । बैंकको कात्तिक २१ गते तय भएको २१ औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

एनसीसी बैंकः बैंकले गत आवको मुनाफाबाट आफ्ना लगानीकर्तालाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जुन राष्ट्र बैंकको स्वीकृत लिएर सेयरधनीको खातामा समेत पठाइसकेको छ । बैंकको मंसिर २ गते बसेको २५औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरी सेयरधनीको खातामा पठाएको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गरेको हो । बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँको ३.३६ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र ७.६३ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख रुपैयाँ (कर सहित) नगद लाभांश बैंकले वितरण गरिसकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकः बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सानिमा बैंकः बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफबाट सेयरधनीलाई कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.९८ प्रतिशत अर्थात ११ करोड १० लाख रुपैयाँ नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो ।

बैंकद्वारा घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत दिइसकेको छ भने सो लाभांश वितरणको लागि बैंकले वार्षिक साधारणसभाको मिति समेत तय गरिसकेको छ । बैंकले आफ्नो १८औं वार्षिक साधारणसभा पुस ३ गते बोलाएको हो । सो साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

सिटिजन्स बैंकः गत आर्थिक वर्ष २०७८÷७९ को सञ्चित मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकले हाल कायम १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ चुक्ता पुँजीको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गरेको हो । सो लाभांश बैंकको कात्तिक ४ गते बसेको १६औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण भएको हो ।

प्रभु बैंकः बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट कुल ८ लाभाांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाद्वारा परित भई सेयरधनीमा वितरण हुनेछ ।

मेगा बैंकः बैंकले गत आवको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ७.८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांशमा हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित भएमा सेयरधनीमा वितरण हुनेछ ।

लाभांश घोषणा गर्ने बाँकी १३ वाणिज्य बैंकको क्षमता

बैंक तथा वित्तीय संस्थाहरुले अघिल्ला आवको वार्षिक साधारणसभा सम्पन्न गर्नको लागि नेपाल राष्ट्र बैंकमा सो आवको वित्तीय विवरण पेश गरी पास गराउनु पर्ने हुन्छ । राष्ट्र बैंकद्वारा पारित वित्तीय विवरणकै आधारमा बैंकहरुले सो आवको सञ्चित मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गर्छन् ।

अधिकांश वाणिज्य बैंकहरुले गत आवको वित्तीय विवरण राष्ट्र बैंकमा पेश गरिसकेका छन् । जससमध्ये १३ वटाको पास भएरपनि अझै लाभांश घोषणा हुन बाँकी छ ।

गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी वाणिज्य बैंकहरुमा नबिल, कृषि विकास, हिमालयन, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, सिद्धार्थ, प्राइम, एनएमबि, माछापुच्छ्रे, सिभिल, लक्ष्मी, नेपाल बैंक र सनराइज बैंक हुन् ।

नबिल बैंक: हाल २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवको असार मसान्तसम्म ९ अर्ब १२ करोड वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले सेयरधनीलाई ३९.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता छ ।
बैंकले गत असारमा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी बिजनेश कम्बाइन वापत प्राप्त ५ अर्ब ७४ करोड रुपैयाँ रिजर्भको पैसा वितरण योग्य नाफाबाट गणना गरेपछि लगानीकर्तालाई दिने लाभांश क्षमतापनि उच्च भएको हो ।

कृषि विकास बैंक: सो अवधिमा बैंकको ३ अर्ब ९० करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई २९.६३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

हिमालयन बैंक: सो अवधिमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब ६६ करोड रुपैयाँ छ । हाल चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई २०.५२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

राष्ट्रिय वाणिज्य बैंक: सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ३ करोड रुपैयाँ छ । हाल चुक्ता पुँजी १४ अर्ब ९४ करोड रुपैयाँ कायम रहेको बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई २०.३० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

एनआइसी एशिया बैंक: सो अवधिमा ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवमा २ अर्ब २४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १९.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

सिद्धार्थ बैंक: सो अवधिमा १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा १ अर्ब २१ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले १६.८२ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

प्राइम बैंक: गत आवमा बैंकले २ अर्ब ३४ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १४.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

एनएमबि बैंक: सो अवधिमा बैंकको २ अर्ब ३९ करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई १३.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

माछापुच्छ्रे बैंक: गत आवको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम छ । सो अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हुँदा सेयरधनीलाई १२.९५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सिभिल बैंकः बैंकले गत आवमा १ अर्ब रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ९ अर्ब ७ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई ११।०९ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

लक्ष्मी बैंक: बैंकले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

सनराइज बैंक: हाल १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा २५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हुँदा सेयरधनीलाई २.५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स