काठमाडौं । बंगलादेश बैंकको विदेशी साझेदार आईअफआईसीको प्रमोटर सेयर बिक्री गर्नको लागि नबिल बैंकले ३५ दिने सूचना निकालेको छ । बंगलादेश बैंकको आईअफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्रि गरेर बाहिरिने भएको छ । बंगलादेश नबिल बैंकमा गाभिएपछि ढाकामा रहेको विदेशी साझेदार आईअफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको सम्पूर्ण सेयर बिक्रि गर्नका लागि आवेदन दिएको हो ।
बंगलादेश बैंक नबिल बैंकमा गाभिएपछि विदेशी साझेदार कम्पनीले आफ्नो हिस्साको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रि गर्न नबिल बैंकमा निवेदन दिएको हो । विदेशी साझेदारले नबिल बैंकमा आवेदन दिएपछि उक्त सयेर बिक्री÷खरिद गर्न प्रकिया अघि बढाउने निर्णय बैंकले गरिसकेको छ । यस सँगै बैंकले सो सेयर बिक्री गर्नको लागि आज ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
बैंकको सूचनामा भनिएको छ ’नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको ई. प्रा. निर्देशन नं. १० बमोजिम उक्त सेयरहरू खरिद गर्नको लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीहरुलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरवारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा लिन चाहेको मूल्य खोली यस सूचनाको प्रकाशन मिति समेत उल्लेख गरी गोप्य खामबन्दी शिलबन्दी निवेदन दिनुहुन अनुरोध गर्दछौं ।’
उल्लिखित मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार सोसेयरहरू अन्य व्यक्ति÷संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
बंगलादेशको आईअफआईसी बैंक साविकको नेपाल बंगलादेशको विदेशी साझेदार थियो । नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभेपछि आईअफआईसी बैंक स्वत नबिल बैंकको संस्थापक सेयरधनी बनेको हो । आईअफआईसी बैंकले नबिल बैंकसँग प्राप्तिमा जानु अगाडी नै आफ्नो स्वामित्वको सेयर बिक्रि गरेर बाहिरिने तयारी गरेको थियो ।
तर, अदालतमा मुद्दा परेर यो प्रक्रिया रोकिएको थियो । उक्त सेयरमा खरिद गर्नको लागि विनोद चौधरीकी श्रीमती सारिका चौधरी र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले इच्छा देखाएका थिए । तर, दुगडले सो सेयर खरिद गर्नुभन्दा चौधरीले गर्नु बैंक तथा सेयरधनीको हितमा रहने निचोडका साथ सो संस्थापक सेयर चौधरीले नै खरिद गर्ने गरी सम्झौता भएको छ । सोही शर्त अनुसार बंगलादेश बैंक नबिलमा गाभिएको हो ।