तरलता सहज गराउन राष्ट्र बैंकले २० अर्ब रुपैयाँ भोलि बैंकिङ प्रणालीमा पठाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता सहज गराउन राष्ट्र बैंकले वित्तीय प्रणालीमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकिङ प्रणालीमा तरलता सहजीकरण गर्न राष्ट्र बैंकले रिपो मार्फत उक्त रकम पठाउन लागेको हो । राष्ट्र बैंकले मंसिर १५ गते बिहीबार बोलकबोल मार्फत उपलब्ध गराउन लागेको सो रिपोको अवधि मंसिर २७ गतेसम्म अर्थात १२ दिनको लागि निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले बिहीबार जारी गर्न रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बोलकबोल मार्फत् जारी हुने सो रिपोको क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ मार्फत् खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यसभन्दा अघि केन्द्रीय बैंकले असोज २७ गते ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । उक्त रिपोमा ४१ अर्ब ५५ करोडको माग आवेदन परेको थियो । बैंक वित्तिय संस्थाले उक्त रिपो खरिदका लागि अधिकतम ८.५२०० र न्यूनतम ८.३००० प्रतिशत ब्याजदर बोल गरेका थिए । उक्त रिपोको औसत ब्याजदर ८.४४५७ प्रतिशत कायम भएको थियो ।

चालु आर्थिक वर्ष सुरु भएपछि राष्ट्र बैंकले रिपो जारी गर्न लागेको यो छैटौं पटक हो । राष्ट्र बैंकले चालु आव लागेयता हालसम्म कुल गरेर एक खर्ब ५० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा रिपो जारी गरेर बजारमा तरलता प्रवाह गर्ने गर्छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत अन्तर बैंक कारोबार दर नीतिगत दर भन्दा २ प्रतिशत भन्दा बढी विन्दुले बढेको अवस्थामा रिपो जारी गर्ने व्यवस्था छ । हाल अन्तर बैंक कारोबार दर ८.४८ प्रतिशत पुगेको छ भने नीतिगत दर ७ प्रतिशत तोकिएको छ ।

नीतिगत दर भनेको ओभरनाइट रिपो रेट हो । वित्तीय प्रणालीमा तरलता कसिलो स्थितिमा रहँदा अन्तर बैंक ब्याजदर बढ्दै जान्छ । यसतो अवस्थामा राष्ट्र बैंकले रिपो जारी गर्छ भने बैकिङ क्षेत्रमा अधिक तरलता भएका बेला राष्ट्र बैंकले तरलता खिच्ने गर्छ । जसले बजारलाई स्थिर अवस्थामा राख्न सहजीकरण गर्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स