अब बैंकहरूले ६ प्रतिशतमात्रै प्रिमियम जोड्न पाउने, कर्जाको ब्याजदर घट्ने

काठमाडौं । बैंकर्सहरूले ६ प्रतिशतमात्रै प्रिमियम जोड्ने भद्र सहमति गरेका छन् । बैंकहरूले कर्जा प्रवाह गर्दा आफुखुशी प्रिमियम जोड्न थालेपछि उनीहरूले बैंकको आधारदरमा ६ प्रतिशतमात्रै प्रिमियम जोड्ने सहमति गरेका हुन् । वित्तीय बजारमा तरलता अभाव भएपछि बैंकहरूले ८ प्रतिशतसम्म प्रिमियम जोडेको, कर्जा अवधि नसकिदानैबीचमै प्रिमियम थपेको गुनासो राष्ट्र बैंक पुगेको थियो । राष्ट्र बैंकले कर्जाको बीचमा प्रिमियम थप गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिको बीचमा थपिएको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको थियो ।

पछिल्लो समय बैंकहरूले जथाभावी प्रिमियम कायम गरी ब्याजदर निर्धारण गरेका काराण् राष्ट्र बैंकले मंसिरमा लागू हुने ब्याजदर सार्वजनिक गर्दा प्रिमियमदर ६ प्रतिशतभन्दा माथि कायम नगर्नु सुझाव दिएको थियो । सोहीअनुसार संघमा बैंकहरुले ६ प्रतिशभन्दा माथि प्रिमियमदर कायम नगरी ब्याजदर सार्वजनिक गर्ने सहमति गरेको हो ।

मंसिर महिनाको लागि कर्जामा नयाँ ब्याजदर प्रकाशित गर्ने अधिकांश वाणिज्य बैंकहरूको प्रिमियम ६ प्रतिशत छ भने केही बैंकहरूले सोभन्दा तल नै प्रिमियमदर कायम छ । राष्ट्र बैंकसँग समन्वय गरी संघले अर्को निर्णय नगर्दासम्म वाणिज्य बैंकहरूको प्रिमियम अधिकतम ६ प्रतिशत रहेको छ ।

बैंकले आधारदरमा केही प्रतिशत प्रिमियमदर जोडेर कर्जाको ब्याजदर निर्धारण गर्छन् । विगतमा न्यूनतम बिन्दु र अधिकतम बिन्दूको सीमा निर्धारण गरी प्रिमियम सार्वजनिक गर्ने बैंकहरुले केही महिनायता भने माथिल्लो सीमामात्रै निर्धारण गर्न थालेका थिए ।

बैकर्स संघले गरको यो निर्णयले कर्जाको ब्याजदर केहि घट्ने देखिएको छ । त्यसो त राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत निक्षेप तथा कर्जाको ब्याजदर अन्तर(स्प्रेडदर) पनि घटाएर वाणिज्य बैंकका लागि ४ प्रतिशत कायम गरको छ भने विकास बैंकको लागि ४.६ प्रतिशत स्प्रेडदर कायम गरको छ । यसअघि वाणिज्य बैंकको ४.४ प्रतिशत थियो भने विकास बैंकको ५ प्रतिशत थियो । प्रिमियम र स्प्रेडदर दुबै घट्दा कर्जाको ब्याजदर पनि घट्ने निश्चित भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स