सुदूरपश्चिममा सञ्चालनमा रहेका उद्योगको उपयोग ४२.९३ प्रतिशतमात्रै, अन्य उत्पादनमा कस्तो?

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूले औसत क्षमता उपयोग ४२.९३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकले उक्त प्रदेशमा खाने तेल, प्रशोधित दूध, गहुँको पिठो, चामल, चिनी, काठ, साबुन, ईटा, रोजिन एण्ड टर्पेन्टाईन लगायतका उद्योगहरुको सर्वेक्षण गरेको थियो ।

नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटै जिल्लाहरूको स्थलगत तथा गैरस्थलगतरुपमा अध्ययन गरी तयार गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक गतिविधि अध्ययन सम्बन्धी प्रतिवेदनले उक्त प्रदेशमा सञ्चालनमा रहेका १३ वटा उद्योगहरुबाट नियमित रुपमा तथ्यांक संकलन गरी विश्लेषण गरिएको हो ।

समीक्षा अवधिमा सर्वेक्षणमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४२.९३ प्रतिशत छ । आर्थिक वर्ष २०७८/७९ मा चिनी, गहुँको पिठो, ईटाँ, तोरीको तेल उत्पादन गर्ने उद्योगको अधिकतम क्षमता उपयोग भएको देखिएको छ भने साबुन, रोजीन, प्रशोधित दूध र चामल उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग अत्यन्तै न्यून उपयोग गरिएको अध्ययनले देखाएको छ ।

रोजिन उत्पादन गर्ने उद्योग कामदारहरुको अभाव, कच्चा पदार्थ संकलनमा भएको ढिलाइका कारण उद्योग पूर्ण रुपमा सञ्चालन हुन नसकेको कारण उत्पादन न्यून हुन गएको, प्रशोधित दूध उत्पादन गर्ने उद्योगमो दूधको आपूर्ति कम भएको कारण उत्पादन न्यून रहेको छ ।

समीक्षा अवधिमा अध्ययनले समेटेका उद्योगमध्ये दूध उत्पादन यथावत रहेको, तेल उत्पादनमा ह्रास आएको र अन्य वस्तुहरूको उत्पादनमा वृद्धि भएको छ । पछिल्लो समयमा आर्थिक गतिविधिहरु बढ्दै गएकाले औद्योगिक उत्पादनमा वृद्धि हुन गएको देखिन्छ । अध्ययनमा समेटिएका उद्योगहरुमा प्रत्यक्ष रोजगारी १ हजार २ सय ३५ जना रहेको छ । रोजगारीमा आबद्ध महिला तथा पुरुषको अंश क्रमशः १० प्रतिशत र ९० प्रतिशत रहेको छ भने ३३ प्रतिशत भारतीय नागरिकहरुले समेत यस क्षेत्रमा रोजगारी पाईरहेका छन् ।

सो प्रदेशका बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्मको निक्षेप २०७८ असार मसान्तको तुलनामा ३.०२ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह १५.८१ प्रतिशतले वृद्धि भएको छ । यातायात साधन संख्या १२.९२ प्रतिशतले वृद्धि भएको छ । सो प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको ७२.६३ हिस्सा सेवा क्षेत्रमा दिएका छन् ।

२०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७८ असार मसान्तको तुलनामा ४.२१ प्रतिशतले घट्न गई २५ अर्ब६८ करोड २५ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २९.५० प्रतिशतले वृद्धि भएको थियो ।

कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्ममा कुल औद्योगिक कर्जामध्ये गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ५४.१४ प्रतिशतले वृद्धि भएको छ भने निर्माण सम्बन्धी उद्योगमा सबैभन्दा बढी ४५.७१ प्रतिशतले ह्रास आएको छ ।

कुल औद्योगिक कर्जामध्येकृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४०.९९ प्रतिशत, गैर खाद्यवस्तुसम्बन्धी उद्योगमा २७.६५ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २१.९० प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ७.६१ प्रतिशत, विद्युत्, ग्याँस तथा पानी उद्योगमा १.२५ प्रतिशत र खानीसम्बन्धी उद्योगमा ०.६० प्रतिशत अंश रहेको छ ।

गत आर्थिक वर्षमा सो प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरुबाट ५२ मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । प्रदेशका पहाडी जिल्लाहरु बैतडी, बझाङ, डोटी र अछाम जिल्लामा हवाई सेवा सुरु भएतापनि पछिल्लो ६ महिनादेखि बन्द रहेका छन् भने दार्चुलाको गोकुलेश्वर विमानस्थल र कञ्चनपुरको मझगाँउ विमानस्थलको स्तरोन्नति गर्ने कार्य भैरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा सेवा क्षेत्रको बृद्धि भएको छ । सो प्रदेशमा पर्यटकस्तरीय होटल तथा लज संख्यामा ११.६३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै शैया संख्या १६.२२ प्रतिशतले बढेको छ । घरजग्गा रजिष्ट्रेसन संख्या भने घटेको छ । राष्ट्र बैंकका अनुसार घरजग्गा रजिष्ट्रेशन संख्या २७.२८ प्रतिशतले घटेको छ भने रजिष्ट्रेशन राजस्व ७.१२ प्रतिशतले घटेको छ ।

सुदूरपश्चिममा प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी कोदोको उत्पादन ४०.४९ प्रतिशतले वृद्धि भएको छ भने धान उत्पादनमा ३१.४९ प्रतिशतले ह्रास आएको छ । तरकारी उत्पादनमा २.०५ प्रतिशतले वृद्धि भएकोछ भने फलफूल तथा मसला ३.०४ प्रतिशतले बढेको छ ।

प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भू– क्षेत्र २.९० प्रतिशतले घटेको छ भने यस्ता बालीको उत्पादन ८.१६ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

पशुजन्य उत्पादन अन्तर्गत दूध ३.०९ प्रतिशत, मासु २.३७ प्रतिशत, अण्डा ३.१९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १०.१९ प्रतिशत हिस्सा कृषि क्षेत्रमा दिएको अध्ययन प्रतिवेदनले देखाएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स