सेयर कारोबार खुलाउन बैंक तथा बीमा कम्पनीले चासो देखाएनन्, यस्तो रहेछ कारण

काठमाडौं । सेयर कारोबार बन्द भएका कम्पनीहरूले निर्देशिका जारी भएको १ सातासम्म पनि कारोबार खुलाउन कुनै चासो देखाएका छैनन् । मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारी भएपछि सो प्रक्रियाका लागि नेपाल स्टक एक्सचेन्जले ३७ वटा कम्पनीको सेयर कारोबार बन्द गरेको थियो ।

सो निर्देशिका जारी भएपछि मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका कम्पनीहरूको सेयर कारोबार बन्द नगर्ने व्यवस्था निर्देशिकाले गरेको छ । यस्ता कम्पनीले सेयर कारोबार खुलाउन नेप्सेमा आवेदन दिनुपर्छ । तर, आज निर्देशिका जारी भएको एक साता बितेको छ । आजसम्म कुनै कम्पनीले पनि कारोबार खुलाउन आवेदन नदिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

सर्वसाधारणको सेयरमात्रै कारोबार हुने भएपछि मर्जर तथा प्राप्तिका लागि सेयर कारोबार बन्द गरिएका कम्पनीहरूले कारोबार खुलाउन चासो नदेखाएको हुन सक्ने उनले बताए । ‘निर्देशिकाले आधारभूत सेयर कारोबार नखुल्ने व्यवस्था गरेको छ,’ उनले भने ‘सर्वसाधारणको सेयर कारोबारमात्रै खुल्ने भएपछि कम्पनीले चासो नदेखाएको हुनसक्छ ।’

आजसम्म सेयर कारोबार खुलाउनको लागि एउटा पनि आवेदन आएको छैन ।’ मर्जर तथा प्राप्तिका प्रक्रियामा रहेका ३७ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । सेयर कारोबार रोकिएका ५६ कम्पनीमध्ये ३७ वटा कम्पनीको भने मर्जर तथा प्राप्ति प्रक्रियाको लागि सेयर कारोबार रोकिएको छ ।

जारी निर्देशिका अनुसार अब देखि मर्जर तथा प्राप्तीमा सहभागि हुने कम्पनीहरूको आधारभूत सेयर बाहेक अन्य सेयर कारोबार एकीकृत कारोबार हुने समयमा मात्रै रोक्का हुने निर्देशिकामा उल्लेख गरिएको छ । बोर्डले आधारभूत सेयरधनी बाहेक सेयर एकीकृत कारोबार हुँदा अधिकतम १५ दिनमात्रै रोक्का हुने भएको हो ।

मर्जर प्रयोजनका लागि हाल ८ वटा वाणिज्य, ८ वटा जीवन बीमा कम्पनी, १० वटा लघुवित्त, ८ वटा निर्जीवन बीमा कम्पनी, २ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनीको सेयर कारोबार रोक्का रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स