काठमाडौं । कुमारी बैंक स्थापना भएका २२ वर्ष पुरा भएको छ । ‘सबैका लागि सधैका लागि’ बैंक भन्ने नाराका साथ आजभन्दा २२ वर्षअघि वित्तीय बजारमा भित्रिएको यस बैंकले यो अवधिमा धेरै आरोह अवरोध पार गरेर आजको स्थिति आईपुगेको छ । कुमारी बैंकको यो साधारणसभाले एनसीसी बैंकसँग मर्जरमा जानका लागि अख्तियारी दिएको छ ।
कुमारी र एनसीसी बैंकले गत असोज ९ गते मर्जर सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार कुमारी बैंकको साधारणसभाले मर्जरको सम्झौता अख्तियारी दिएको हो । यो अख्तियारीसँगै अब कुमारी बैंकले छिट्टै विशेष साधारणसभा बोलाउने छ र उक्त साधारणले पारित गरेपछि यी दुई बैंक एकआपसमा गाभिने छन् ।
१ः१ स्वाप रेसियोमा मर्जर सम्झौतमा जाने सहमति गरेका यी दुई बैंकले पुसभित्र एकीकृत कारोबार गरिसक्ने गरी प्रक्रिया अघि बढाएका छन् । एनसीसी बैंकले पनि मर्जर सम्झौता पारित गर्नका लागि मंसिर २ गते साधारणसभा आव्हान गरेको छ । २२ औं साधारणसभाले १२.५० प्रतिशत प्रस्तावित लाभांश पारित गरेको छ । यसअघि सिटिजन्स बैंकले लाभांश पारित गरेको थियो ।
डीडीए रिपोर्टः अध्यक्ष राणा
कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा राणाले एनसीसी र कुमारी मर्जरमा जान सहमति भइसकेकोले अब छिट्टै डीडीए रिपोर्ट आउने साधारणसभालाई सम्बोधन गर्ने क्रममा बताए । ‘हामीले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेका छौं,’ उनले भने ‘डीडीए रिपोटछिट्टै आउँदैछ ।’ सम्भवत पुस १७ गतेअघि नै एनसीसी बैंकसँग एकीकृत कारोबार हुन्छ ।’
कुमारी बैंकले आज पारित भएको लाभांश भोलिदेखि नै सेयरधनीकोे खातामा रकम जम्मा गर्ने बताउँदै एनसीसीसँग मर्जर पश्यात अझ बढी लाभांश दिने गरी बैंकले काम गर्ने बताए । साधारणसभामा उनले ठूला बैंकहरूसँग प्रतिस्पर्धा गर्नैका लागि भएपनि मर्जर सम्झौता गरेको बताए ।
मर्जर पछि बैंकमा भएका कमी कमजोरीलाई निराकरण गरी नम्बर वान बैंक बन्ने लक्ष्य लिएर बैंक अघि बढेको उनले सुनाए । केहि वर्ष बैंकको प्रफमेन्स खस्किए पनि अहिले राम्रो भएको छ । हामी टप टेन बैंकभित्रनै पर्छौ उनले भने साधारणसभामा भने ।
दुई बैंक मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारीका सीईओ रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक नै हुने उनले बताए ।
कस्तो होला बैंकको संरचना ?
गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ अनुसार कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब ३१ करोड ४६ लाख ७२ हजार रुपैयाँ रहेको छ । मर्जर पछि बन्ने बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ५६ हजार पुग्ने देखिएको छ ।
यस्तो छ कुमारीको व्यवसाय
आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कर्जा, निक्षेप तथा लगानी क्रमशः १०.९० प्रतिशत, १६.४० प्रतिशत र १.५० प्रतिशतले वृद्धि भई १५९ अर्ब ४४ करोड, १८२ अर्ब ९६ करोड र २३ अर्ब ४२ करोड रुपैयाँ पुग्न गएको छ । यसैगरी खुद ब्याज आम्दानी २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने संचालन खर्च कुल ११.२९ प्रतिशतले वृद्धि भई ३ अर्ब ५५ करोड रुपैयाँ हुन पुगेका छ ।
आर्थिक वर्ष २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा २५.५२ प्रतिशतले बृद्धि भई ४ अर्ब ३६ करोड रुपैयाँ हुन पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब ९७ करोड रुपैयाँ रहेको खुद नाफा आर्थिक वर्ष २०७८÷७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि राम्रो प्रगति गरेको देखिन्छ ।
आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा कुमारी बैंकको कुल कर्जा १ खर्ब ४३ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षको अन्त्यमा १०.९० प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ पुगेको देखिन्छ ।
बैंकले आफ्नो कर्जा तथा सापटीलाई विविधिकरण गर्दै व्यक्तिगत कर्जा, शिक्षा कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, कृषि तथा उत्पादनशील कर्जा, विपन्न वर्ग कर्जा, संस्थागत कर्जा तथा विकास परियोजना क्षेत्रमा कर्जा प्रदान गर्दै आएको विभिन्न तथ्यांकहरूले देखाउँछ ।
समीक्षा अवधिमा बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.११ प्रतिशत रहेको छ । समीक्षा वर्षमा कर्जा लगानीमा वृद्धि भएता पनि उल्लेख्य मात्रामा समस्याग्रस्त कर्जाहरुको असुली भएको बैंकले जनाएको छ ।
बैंक आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा कर्जा तथा लगानीबाट प्राप्त ब्याज आम्दानी ४३.६६ प्रतिशतले वृद्धि भई १८ अर्ब ३५ करोड रुपैयाँ पुग्न गएको छ भने ब्याज खर्च ५७.६५ प्रतिशतले वृद्धि भई १२ अर्ब १३ करोड रुपैयाँ पुगेको देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानी करिब २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको बैंकको संचालन नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५.५२ प्रतिशतले वृद्धि भई ४ अर्ब ३६ करोड पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ रहेको कमाुरीको खुद नाफा आर्थिक वर्ष. २०७८÷७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी १८.४२ प्रतिशत तथा अन्य संचालन खर्च ८.१७ प्रतिशतले वृद्धि भै क्रमशः ७ अर्ब ३६ करोड र ३ अर्ब ८४ करोड रुपैयाँ रुपैयाँ पुग्ने अनुमान बैंकको छ । बैंकको संचालन मुनाफा १७.४३ प्रतिशतले वृद्धि गरी ५ अर्ब १३ करोड पुग्ने अनुमान रहेको छ ।
यस्तै, समीक्षा वर्षमा बैंकको निष्क्रिय कर्जा अनुपात बिगत वर्षभन्दा केहि वृद्धि भई १.११ प्रतिशतमा रहेको छ । चालु वर्षमा निष्क्रिय कर्जाहरू असुली गराउने तर्फ प्रयास भई रहेको छ । यस प्रकार चालु वर्षमा बैंकको खुद मुनाफा २८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३० करोड २२ लाख पुर्याउने लक्ष्य कुमारी बैंकको छ ।