दैनिक ३ अर्बका दरले निक्षेप संकलन गर्दै बैंक

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकमा निक्षेप बढेको छ । मध्ये कार्तिकमा बैंकहरूले दैनिक ३ अर्ब रुपैयाँका दरले निक्षेप संकलन गरिरहेका छन् । कार्तिक ११ गते ४५ खर्ब २४ अर्ब रहेको वाणिज्य बैंकको निक्षेप कार्तिक १८ गते आईपुग्दा २१ अर्बले बढेर ४५ खर्ब ४५ अर्ब पुगेको हो ।

कार्तिक ४ गते वाणिज्य बैंकमा ४५ खर्ब ४१ रुपैयाँ निक्षेप रहेको थियो । ४ गतेदेखि ११ गतेसम्मको अवधिमा १७ अर्ब निक्षेप बैंकबाट बाहिरिएको थियो । निर्वाचनको मिति नजिकिदै जाँदा बैंकमा निक्षेप पुनः बढ्न थालेको छ ।

पछिल्लो ७ दिनकोमात्रै हिसाव गर्ने हो भने वाणिज्य बैंकमा दैनिक ३ अर्बका दरले निक्षेप संकलन भइरहेको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ । यसरी निक्षेप बढ्दै जाने हो भने हाल बजारमा देखिएको कर्जा नपाउने र उच्च ब्याजदरको समस्या पनि हल हुने बैकरको भनाइ रहेको छ । बढ्दो निक्षेपले ब्याजदद घटाउन सघाउने हुँदा निक्षेप बढ्नु भनेको बजार चलायमान हुन सहयोग मिल्नु हो । यसले आर्थिक गतिविधि बढाउन मद्दत गर्छ ।

निक्षेप बढेपनि कर्जा भने समीक्षा अवधिमा घटेको छ । कार्तिक ११ गतेसम्म ४२ खर्ब २५ अर्ब रहेको वाणिज्य बैंकहरूको कर्जा प्रवाह पछिल्लो सात दिनमा १ अर्बले घटेर ४२ खर्ब २४ अर्बमा सीमित भएको छ । निक्षेप बढेपनि कार्तिक महिना लागेपछि खासै कर्जा भने बढ्न सकेको छैन । यसको अर्थ बैंकहरू अझै पनि कर्जा प्रवाह गर्न सक्ने अवस्थामा भने अझै बैंकहरू पुग्न सकेका छैनन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स