काठमाडौं । जानकी फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ लाख १९ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.३४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ७९ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेका कारण फाइनान्सको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २४.६२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४३.४५ प्रतिशत घटेको छ । फाइनान्सको इम्पेरमेन्ट चार्ज ३ करोड ९८ लाख रुपैयाँ पुगेको छ । जसकारण सञ्चालन मुनाफा ८९.९३ प्रतिशत घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पुँजी १५ प्रतिशत बढेको छ भने जगेडा कोष ३७.९७ प्रतिशत घटेको छ । फाइनान्सको निक्षेप १.६६ प्रतिशत बढेको छ भने कर्जा २.५० प्रतिशत घटेको छ ।
नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी १७ रुपैयाँ २२ पैसा घटेर १ रुपैयाँ ४० पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २५३.८९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८० पैसा रहेको छ ।