८ फाइनान्सले कमाए १५ करोड ८४ लाख, बढी नाफा कमाउनेमा मञ्जुश्री

काठमाडौं । हालसम्म ८ फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ वटा फाइनान्स कम्पनीले १५ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यी फाइनान्स कम्पनीहरूले कमाएको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा करिब ३६ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा यी फाइनान्स कम्पनीहरूले कुल २४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यीमध्ये ४ फाइनान्सको खुद नाफा बढेको छ भने ४ फाइनान्सको घटेको छ। सेन्ट्रल फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र बेस्ट फाइनान्सको नाफा घटेको छ भने पोखरा फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, गोर्खाज फाइनान्सको नाफा बढेको छ ।

प्रतिशतका हिसावले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सले राम्रो प्रगति गरेको छ । कम्पनीले यो अवधिमा आफ्नो नाफालाई २६१ प्रतिशतले बढाएर ४६ लाख ९० हजार पुर्याएको छ । पोखरा फाइनान्सको नाफा गत आर्थिक वर्षमा १२ लाख ९७ हजार थियो भने अहिले बढेर ४६ लाख ९० हजार पुगेको छ ।

अंकका आधारमा भने चालु आर्थिक वर्षको पहिलो ३ महिनामा मञ्जुश्री फाइनान्सले सबैभन्दा बढी नाफा आर्जन गरेको छ । सो अवधिसम्ममा फाइनान्सले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४७.९२ प्रतिशत बढी हो । उक्त फाइनान्सले गत आवमा २ करोड ८६ लाख ९३ हजार रुपैयाँ नाफा गरेको थियो ।

नेपाल फाइनान्सले पनि आफ्नो नाफालाई १३२ प्रतिशतभन्दा बढीले बढाएर ८१ लाख ७९ हजार पुर्याएको छ । उक्त फाइनान्सले गत आर्थिक वर्षको सो अवधिमा ३५ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यसरी नै गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३३ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ । फाइनान्स कम्पनीले गत आर्थिक वर्षको सो अवधिमा १ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

सबैभन्दा कम नाफा कमाउने फाइनान्स भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी रहेको छ । फाइनान्सले पहिलो तीन महिनामा २८ लाख ७२ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.६७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सो अवधिमा उक्त फाइनान्स कम्पनीले २ करोड ७८ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा सर्वाधिक खुद नाफा कमाएको बेष्ट फाइनान्सको यस्तो नाफा भने चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९५.१० प्रतिशत घटेको छ । असोज मसान्तसम्ममा फाइनान्सले ५९ लाख ३३ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । नाफा घटाउने अन्य दुई फाइनान्स कम्पनी सेन्ट्रल फाइनान्स, प्रोग्रेशिभ फाइनान्सको नाफा पनि चालु आर्थिक वर्षको यो अवधिमा घटेको छ ।

सेन्ट्रल फाइनान्सले चालु आर्थिक वर्षमा ९३ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.३७ प्रतिशतले कम हो । फाइनान्स कम्पनीले गत आर्थिक वर्षमा १ करोड ३६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रोग्रेशिभ फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २९ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स