काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्षको यो अवधिको तुलनामा बैंकको खुद नाफा ४७.४८ प्रतिशतले घटेको हो ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २९ करोड ७८ लाख रुपैयाँमा सीमित थियो।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १५.६१ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २९.४१ रुपैयाँ रहेको थियो। पीई रेसयो १९.५७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७७.१५ रुपैयाँ रहेको छ।
बैंकले सञ्चालन मुनाफाबापत ७२ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ४६.८६ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा बैंकले २ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ७५ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी २१.६२ प्रतिशतले बढेको छ।
बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर १२ अर्ब ५२ लाख रुपैयाँ, जगेडा कोष ५.११ प्रतिशत बढेर ८ अर्ब ४३ करोड रुपैयाँ, निक्षेप संकलन ५.१४ प्रतिशत बढेर १ खर्ब ९२ अर्ब ९५ करोड रुपैयाँ र कर्जा ३.९० प्रतिशत बढेर १ खर्ब ७९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।