काठमाडौं । भोलि (कार्तिक ३) गतेबाट राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । तिहारको धनतेरस अवसर पारेर राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्न लागेको हो । धनतेरस यस वर्ष कार्तिक ५ गते शनिबारको दिन परेको छ ।
राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री गर्ने जनाएको छ । राष्ट्र बैंकको अनुसार प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थान असर्फी वितरण गरिनेछ ।
सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर, संस्थाको हकमा प्रतिग्राम ३ सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको छ ।
धन्तेरसको दिन मानिसहरुले सुन-चाँदीसँगै विभिन्न वस्तु खरिद गर्ने गर्छन्। यो दिन नयाँ व्यापार–व्यवसाय सुरु गर्नका लागि शुभ मानिन्छ। धन्तेरसका दिन सुन-चाँदीसँगै नयाँ भाँडा तथा सरसामान जोडेमा घरमा समद्धि हुने धार्मिक मान्यता छ।