निक्षेपको ब्याज नबढ्ने भयो कार्तिकमा

काठमाडौं । असोज महिनामा ८ महिनापछि ब्याजदर बढाएका बैंकहरूले कात्तिक महिना ब्याजदर नबढाउने भएका छन् । बैंकहरूले कार्तिक महिनामा असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका हुन् । कात्तिक महिनाको लागि प्रकाशित नयाँ ब्याजदर सूचना अनुसार बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छैनन् ।

अधिकांश बैंकहरूको कार्तिक महिनाको लागि अधिकतम ब्याजदर १२.१३ प्रतिशत नै लिने तय गरेका छन् । बैंकहरूले गत महिना ब्याजदर बृद्धि गरी व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दर दिँदै आएका थिए । राष्ट्र बैंकको नियम अनुसार रेमिट्यान्स मुद्दति खाता १ अन्यको भन्दा १ प्रतिशत बढी ब्याज दिन पाइने भएकाले १५ प्रतिशतभन्दा बढीसम्म ब्याजदर दिइएको छ ।

हरेक महिना बैठक बसेर ब्याजदरसम्बन्धी निर्णय गर्दै आएका बैंकहरूले कार्तिकमा ब्याजदर नबढाउने अनौपचारिक रुपमा सहमति गरेका हुन् । ब्याजदर बढाउदा लागत धेरै बढ्ने हुँदा अहिले बैंकरहरूले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका हुन् ।

ब्याजदर घटाउनको लागि अर्थमन्त्रीले गठन गरेको समितिले भने ब्याजदर निर्धारण बजारलाई नै छोड्नुपर्ने सुझाव दिएको छ । राष्ट्र बैंकले पनि अप्रत्यक्ष रुपमा ब्याजदर बढाउन बैंकहरूलाई प्रोत्साहन नै गरेको देखिन्छ । देशको शोधनान्तरमा दवाव परेपछि आयात घटाउने उद्देश्यसहित राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप नगरी बजारलाई छोडिदिएको हो ।

यदि ब्याजदर बढी भयो भने बैंकबाट ऋण लिएर आयात गर्दा आयातकर्तालाई थोरैमात्रै फाइदा हुने रणनीतिक योजना सहित राष्ट्र बैंकले यो कदम चालेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स