काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर सम्बन्धि नियमावली संशोधन गरेको छ । राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३’मा पाँचौं संशोधन गर्दै जारी गरेको हो।
राष्ट्र बैंकले यसअघिको चौथो संशोधनका केही दफामा हेरफेर गर्दै पाँचौं संशोधन गरी विनियमावली जारी गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी पाँचौं संशोधन गरेको राष्ट्र बैंकले जनाएको छ।
पाचौं संशोधनले बैंकहरु एक आपसमा मर्ज हुँदा सेयर कारोबार रोक्का हुने सम्बन्धित विषय हटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइने उल्लेख थियो । सोहि अनुसार राष्ट्र बैंकले नियमावली नै संशोधन गरेर नीतिगत व्यवस्था गरेको हो ।
त्यस्तै, पाचौ संशोधनले मर्जर सम्झौता गरेपछि सैदान्तिक सहमति माग गर्दा नेपाल धितोपत्र विनिमय बजार लिमिटेडबाट गाभ्ने गाभिने वा लक्षित संस्थाको सेयर कारोबार रोक्का गरिएको पत्र चाहिने व्यवस्था खारेज गरेको छ । अब बैंकहरुले मर्जर सम्झौता गरेपछि कारोबार रोक्का गरिएको पत्र पेश गर्नु पर्ने छैन ।
राष्ट्र बैंकद्वारा जारी विनियमावली भोलिदेखि नै लागू हुने प्रवक्ता डा. गुणाकर भट्ट बताए । बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा तयार गरी पनि सेयर कारोबार १५ दिनमात्रै रोक्का हुने व्यवस्था गर्ने निर्णय गरेको थियो ।
तर, सो मस्यौदा हालसम्म निर्देशिका निर्माण गरी बोर्डले कार्यान्वयनमा ल्याउन सकेको छैन । राष्ट्र बैंकले सेयर कारोबार रोक्का फुकुवाको जिम्मेवारी बोर्डलाई नै सुम्पिएको हुँदा मर्जर सम्बन्धी नयाँ व्यवस्था भोलिदेखि नै लागू हुने उनको भनाइ छ ।‘राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिको लागि पूरा गर्नुपर्ने प्रक्रियामा सेयर कारोबार सम्बन्धी पाटो हटाइएको उनले जानकारी दिए । अब मर्जर तथा प्राप्ति सम्बन्धी बाँकी प्रक्रियाको पाटोमात्रै राष्ट्र बैंकले हेर्छ ।
यता, बोर्डले यसअघि नै मर्जर तथा प्राप्तिमा जाने सूचीकृत कम्पनीहरूको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्ने निर्णय गर्दै मस्यौदा तयार गरेपनि सो मस्यौदा निर्देशिका बनाएर कार्यान्यवनमा नआउँदासम्म भने मर्जर तथा प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबारको हकमा के हुने अन्योलता सिर्जना भएको देखिन्छ ।
मर्जर हुने जानकारी सहितको सेयर कारोबार रोक्काको निवेदन पेश गर्नु पर्ने प्रक्रियाबाट राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मुक्त गरेको छ । सेयर कारोबार रोक्का गर्नुपर्ने प्रक्रिया नै खारेज गरेपछि मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका संस्थाले अन्तिम स्वीकृति पाए सेयर रोक्का फुकुवाको आवश्यक प्रक्रिया गर्नु नपर्ने व्यवस्था समेत गरिएको छ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/10/rastra-bank-5th-sansodhan.pdf” cache=”off”]