राष्ट्र बैंकद्वारा जग्गाको नक्सा लिने कार्य डिजिटल प्रणालीमार्फत गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले जग्गाको एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा लिने कार्य डिजिटल प्रणालीमार्फत गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बिहीबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै ‘डिजिटल प्रणाली मार्फत जग्गाको नाप नक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ जारी भइसकेकोले सोहि अनुसार गर्न गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स , लघुवित्त र पूर्वाधार विकास बैंकलाई एक निर्देशन जारी गर्दै बैंकिङ प्रयोजनका लागि नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा लिने कार्यलाई डिजिटल प्रणालीमार्फत सम्पन्न गर्न निर्देशन दिएको हो ।

यस अघि सम्म कुनै वित्तीय संस्थाबाट जग्गाको पूर्ण विवरण सहितको आधिकारिक पत्रसाथ आधिकारिक व्यक्ति नापी कार्यालयमा उपस्थित भई नियमानुसार राजश्व बुझाई नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा उपलब्ध हुने गरेको थियो । अब भने नापी विभागबाट हालै संचालनमा ल्याइएको अनलाईन प्रविधिमा आधारित मेरो कित्ता प्रणाली मार्फत सेवा लिन सक्ने व्यवस्था मिलाइएकोले सोहि अनुसार गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

उक्त प्रणाली https://merokitta.dos.gov.np मार्फत सेवा लिन सम्बन्धित संस्थाहरुले यूजर एकाउन्ट लिई ‘डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ को अनुसूची ४ बमोजिमको ढाँचामा निवेदन अपलोड गरी अनलाइन प्रणाली मार्फत कित्ता नापी नक्सा, फिल्डबुक, प्लट रजिष्टर प्रिन्ट तथा राजश्व भुक्तानी लगायतका सेवाहरु नापी कार्यालयमा उपस्थित नभई प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस व्यवस्थाबारे जानकारी दिदै सेवा उपयोग गर्नको लागि आवश्यक समन्वय गरिदिन राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। सोहि अनुसार राष्ट्र बैंकले ‘डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८ मा भएको व्यवस्था अनुसार सम्पूर्ण सेवा उपयोग गर्न सबै बैक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स