काठमाडौं । विषय २०७३ सालको हो । राष्ट्र बैंकले २०७२/७३ को मौद्रिक नीतिमार्फत २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने घोषणा गरेको थियो । राष्ट्र बैंकको दवावका कारण यी दुई बैंकले मर्जरमा जाने सम्झौता गरे ।
चुक्ता पुँजी बढाउने दबाबमा यी दुई वाणिज्य बैंक अन्य चार विकासबैंकसहित मर्जरमा जानका लागि २०७२ पुसमा सैद्धान्तिक सहमति गरेका थिए । मर्जर सफल भएको भए मर्जपछि बन्ने बैंकको त्यति बेला यी बैंक मिलेर बन्ने बैंकको चुक्ता पुँजी ७ अर्ब ३४ करोड रुपैयाँ पुग्ने थियो । सैद्दातिक सहमतिमा मर्जरपछि ‘केसीसी बैंक’ को नामबाट सञ्चालन हुने उल्लेख थियो ।
तर, कुमारी बैंकको विशेष साधारणसभाले एनसीसी बैंकलगायत अन्य ४ वटा विकास बैंकसँगको मर्जर तोड्यो । बैंकको साधारणसभामा बहुमत सेयरधनीले मर्जरको विपक्षमा मतदान गरेपछि यी संस्थाहरूबीचको मर्जर प्रक्रिया रोकियो । बैंकको सञ्चालक समिति मर्जरको पक्षमा रहेपछि ५० प्रतिशतभन्दा बढी सेयरधनीले कुमारी बैंकसँग मर्जरमा जान नहुनेमा मत खसाले ।
असारमसान्तसम्म कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ ८३ हजार र एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार छ । आज भएको सम्झौता अनुसार दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साता अगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो ।
एनसीसी बैंकको यही असार २९ गते सम्पन्न साधारणसभाले पनि मर्जरमा जाने सञ्चाकल समितिको प्रस्ताव पारित गरेको थियो ।
एनसीसी बैंकको सञ्चालक समितिमा विवाद उत्पन्न भएपछि २०७० माघ २१ गते राष्ट्र बैंकले सञ्चालक समितिमाथि हस्तक्षेप गरेको थियो । राष्ट्र बैंकले एनसीसीका वित्तीय सूचकांकहरूमा सुधार गरेपनि अन्य संस्थाहरूसँग मर्जरमा लगेर मात्रै आफू बाहिरिने बताएको थियो । राष्ट्र बैंकले सम्हालेको व्यवस्थापनकै दबाबमा एनसीसी बैंक मर्जर प्रक्रियामा गएको हो ।
अघिल्लो चरणमा मर्जरमा जान सभ्झौता गरेका बेला कुमारी बैंकको साभारणसभामा बोल्ने वक्ताहरूले एनसीसीसहित अन्य विकाससँग हुने मर्जरले कुमारीलाई फाइदा नगर्ने तर्क गरेका थिए ।
कुमारीका संस्थापक सेयरधनीहरूका अनुसार कम्पनीको आर्थिक अवस्था अन्यको भन्दा निकै बलियो रहेको र त्यहि वर्ष लाभांश समेत दिन सक्ने उनीहरूको ठम्याइ थियो ।
त्यति बेला पनि ड्यु डिलिजेन्स अडिट (डीडीए)मा कुमारी र एनसीसीको सेयर स्वाप रेसियो बराबर कायम गरिएको थियो भने अन्य विकास बैंकहरुको भने कम रहेको थियो । अहिले ६ वर्षपछि पनि यी दुई बैंकबीच १ः१ स्वाप रेसियो मै मर्जर हुने भएको छ । यसले सेयरधनीदेखि कर्मचारीलाई समेत फाइदा हुने देखिएको छ ।
किनकी मर्जरपछि बन्ने दुबै बैंकका कर्मचारीहरूको स्तर वा पद घट्ने छैन । आफू जुन पदमा बसेर सेवा प्रदान गरिरहेको छ, त्यहि पदमा बसेर नयाँ बन्ने बैंकमा पनि काम गर्न पाउने निश्चित भएको छ ।