काठमाडौं । डलरको भाउले बिहीबार फेरि बढेर नयाँ उचाइ छोएको छ । अमेरिकि फेडेरल रिजर्भले ब्याज बढाएको कारण डरलको मूल्यले नयाँ उचाइ छोएको हो । पछिल्लो समय भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो।
केहि सातायता लगातार यसरी नै डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २७ पैसा तोेकेको छ । नेपालीले १ डलर साट्नको लागि १२८ रुपैयाँ ११ पैसा खर्च गर्नु पर्ने भएको छ ।
यसअघि डरलको भाउ गत साउन ५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा पुगेको थियो । आज बिहीबार भदौ ६ गते पनि डलरको भाउ पुन सोहि विन्दुमा पुग्न खोजेको छ ।
फेडेरल रिजर्भले ब्याज बढाएका कारण पनि डलरको भाउमा असर परेको छ । ताइवानलाई लिएर अमेरिका र चीनबीच बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको छ ।
डलरको भाउ महागिदै जाँदा आयातित वस्तु झनै महँगो हुन्छ र व्यापार घाटा अझ चुलिदै जान्छ भने राज्यले विदेशी विकास साभेदारसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ । डलरको भाउ महँंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई भने फाइदा हुन्छ । त्यति मात्रै उच्च शिक्षाको नाममा पनि अर्बौ रुपैयाँ बाहिरिन्छ ।
विश्वव्यापीकरण आर्थिक उदारीकरण, आयात–निर्यात, जनस्तरको सम्पर्क र आवतजावत जस्ता विषयका कारण डलरको भाउमा हुने उतारचढावका सोझा असर नेपाली अर्थतन्त्रमा पनि पर्ने गर्छ ।
डलरको भाउ बढ्ने बित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वतस् बढ्छ। उसै त कहालीलाग्दो स्थितिमा रहेको व्यापार घाटा त्यसो हुँदा झन् बढ्छ। यो घाटाको अर्को नराम्रो असर चालु खाता तथा शोधनान्तरमा पर्छ। विदेशी मुद्राको सञ्चितिपनि घट्छ।
डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन्। सियोदेखि गाडीसम्म आयातमा निर्भर नेपालको निम्ति यो ठूलै बेफाइदा हुन्छ। नेपालको दुई तिहाईभन्दा बढी व्यापार भारतसँग हुने गर्छ। तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्न सक्छ। इन्धनको मूल्य चर्को हुन सक्छ।
दशौँ हजार नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। उनीहरूले त्यहाँ विदेशी मुद्रामा पैसा तिर्नुपर्छ। डलरको भाउ बढ्नेबित्तिकै त्यसले ती विद्यार्थीको परिवारमाथि एक्कासि आर्थिक बोझ थपिन्छ।
राष्ट्र बैंकका अनुसार यसै आर्थिक वर्षमात्रै विद्यार्थीका कारण ४० अर्ब रुपैयाँ बराबरको रकम बाहिरिन सक्छ। डलरको भाउ बढ्दै गए यसमा चाप पर्छ। नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा नै बढी हुने विज्ञहरूले बताएका छन्।
अर्को प्रमुख बेफाइदा चाहिँ नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्छ। विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ।
डलरको भाउ बढ्दा नेपाललाई हुने फाइदा
निकासीः नेपाली रुपैयाँको भाउ सस्तो हुँदा नेपालबाट निर्यात हुने सामानको भाउ अन्तर्राष्ट्रिय आयातकर्ताहरूको निम्ति आकर्षक हुन पुग्छ र निर्यातले पनि अर्थतन्त्रमा केहि टेवा पुर्याउन सक्छ । यद्यपि नेपालको निर्यात आयातको तुलनामा नगन्य छ । साउन महिनाको तथ्यांक हेर्ने हो भने चालु आवको साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको आयात भएको छ भने जम्मा १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको छ ।
त्यसैले निकासीको परिमाण र वस्तु सीमित भएकाले यसबाट हुने फाइदा पनि स्वाभाविक रूपमा सीमित नै हुने देखिन्छ।
पर्यटन आयस् विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी बढाइदिन्छ।
नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ। पर्यटनको योगदान नेपाली अर्थतन्त्रमा बहुआयामिक हुने गर्छ। देशको विदेशी मुद्रा आर्जनको एक प्रमुख स्रोतमात्र नभई यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा ठूलो योगदान पुर्याउँछ। लगानी गर्न खोज्नेहरूलाई पनि कमजोर नेपाली मुद्राले केही प्रोत्साहन मिल्न सक्छ।
विप्रेषण आयस् लाखौँ नेपालीहरू विदेशमा काम गर्छन्। कैयौँले त्यहाँ कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन्।
उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ। विप्रेषण आयमा हुने वृद्धिले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ। त्यस्तो असर असल र खराब दुवै किसिमका हुने गर्छन् ।
केही विज्ञहरूसँग कुरा गरेर हामीले डलरको तुलनामा नेपाली रुपैयाँ खस्कँदा हुने केही फाइदा र बेफाइदाबारे जानकारी बटुलेका छौं ।