काठमाडौं । नेपाल राष्ट्र बैंकले भिसा बापत संकलन भएको नेपाली रुपैयाँको सहटी सुविधामा थप नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै भिसा बापत संकलन भएको नेपाली रुपैयाँको सहटी सुविधामा थप नयाँ व्यवस्था गरेको हो । राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त वाणिज्य बैंक र ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र अन्य निकायलाई निर्देशन जारी गरेको हो ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले ई–भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेका शर्तहरु पालना हुने गरी त्यस्ता तोकिएका संस्थाहरुमार्फत् भिसा बापत संकलित रकमको लागि बैंक तथा आधारमा वित्तीय संस्थाबाट जारी विद्युतीय÷डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने एकीकृत परिपत्रमा उल्लेख गरेको छ ।
भिसा शुल्कबापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवर्त्य विदेशी मुद्राको यस्तो सटहीको विवरण खाता वा सम्बन्धित देशको नेपालस्थित दूतावास÷नियोगको तोकिएको परिवर्त्य विदेशी मुद्राको खातामा मात्र जम्मा हुनु पर्ने व्यवस्था गरेको छ । त्यसका लागि भुक्तानीको व्यवस्था स्पष्टरुपमा खुल्ने सम्बन्धित मुलुक वा नेपालस्थित दूतावास÷नियोगको पत्र समेत आवश्यक पर्नेछ ।
यस्तो कार्डबाट अन्य कुनै पनि प्रयोजनका लागि भुक्तानी नहुने व्यवस्था गर्नु पर्नेछ । यस्तो कार्डको म्याद ई–भिसा प्रोसेसिङ सम्बन्धी कार्य गर्नको लागि तोकिएको अवधिभन्दा बढी नहुने व्यवस्था गर्नु पर्नेछ । यस्तो कार्डबाट एकै पटक वा पटक–पटक गरी भुक्तानी हुन सक्नेछ र यस एकीकृत परिपत्र–२०७८ मा अन्यत्र उल्लिखित कुनै पनि रकम भुक्तानीसम्बन्धी सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।
कार्ड जारी गर्न लिंक गरिएको नेपाली रुपैयाँ खाताको मौज्दात र कार्डबाट भुक्तानी भएको रकमको विवरण दैनिक रुपमा हिसाब मिलान हुनु पर्नेछ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको ई–भिसा प्रोसेसिङको भिसा शुल्क भुक्तानी गर्दा नेपाल सरकार र सम्बन्धित देशबीच भएको सम्झौतामा उल्लिखित भिसासम्बन्धी सम्पूर्ण व्यवस्थाहरुको पालना हुनु पर्नेछ ।
ई–भिसा प्रणाली अन्तर्गत भिसा आवेदक नेपालीले ई–भिसा प्रणालीमा तोकिए बमोजिम शुल्क भुक्तानी (आफ्नो एकाघर परिवार सदस्यको लागि समेत) आफ्नो नाममा एकीकृत इ.प्रा. परिपत्र ०७÷२०७८ र १४÷२०७८ बमोजिम जारी भएका परिवर्त्य विदेशी मुद्राको विद्युतीय कार्ड (प्रिपेड, डेबिट, क्रेडिट, अमेरिकी डलर ५०० को प्रिपेड कार्ड) बाट गर्न चाहेमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउन पर्नेछ ।
यस व्यवस्था अन्तर्गतको भुक्तानीमा भने सम्बन्धित कार्डका लागि तोकिएको रकम खर्च गर्ने सीमा लागू हुने राष्ट्र बैंकले एकीकृत परिपत्रमा उल्लेख गरेको छ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/09/nrb.pdf”]