नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको डीडीए रिपोर्ट तयार, ढिलोमा पुससम्म एकीकृत कारोबार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ । दुबै बैंकले एक आपसमा मर्जरमा जाने सहमति गरेपछि शुरु गरिएको डीडीए प्रक्रिया सकिएको छ । डीडीए रिपोर्ट अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको १००ः ९० स्वाप रेसियो कायम भएको बैंक सञ्चालकले जानकारी दिएका छन् ।

यी दुई बैंकले जेठ २७ गते एक आपसममा मर्जरमा जाने सहमति गरेका थिए । दुबै बैंकको डीडीए रिपोट तयार भएकोले अन्य आन्तरिक प्रक्रिया मिलाएर ढिलोमा पुससम्म एकीकृत कारोबार गरिसक्ने गरी दुबै बैंकले प्रक्रिया अघि बढाएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई एक आपसमा मर्जमा जानको लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ । दुवै बैंकलाई असार २२ गते (बुधबार) मर्जरको लागि राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको हो ।
सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने छन् ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । इन्भेष्टमेन्ट बैंकसँग मेगा बैंकको स्वाप रेसिया १००ः ९० गर्दा मेगा बैंकको चुक्ता पुँजी १४ अर्ब ५० करोड ८४ लाख हुन आउँछ । सो स्वाप रेसियो अनुसार कायम भएको पुँजीलाई मिलान गर्दा मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी करिब ३२ अर्ब ८१ करोड ५९ लाख पुग्ने देखिएको छ ।

अहिले दोस्रो बजारमा मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता २२६ रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट बैंकको दोस्रो बजारमा सेयर मूल्य २६५ रुपैयाँ रहेको छ ।

मर्जरमा जान लागेका यी दुई बैंकको यस्तो छ वित्तीय विवरण
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा आजेन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले २ अर्ब ३ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई ११.१३ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.३७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १३.३० प्रतिशत बढेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३१.४१ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १२.६१ प्रतिशत बढेको छ भने जगेडा कोष ०.०७ प्रतिशत घटेको छ । बैंकको निक्षेप ५.८६ प्रतिशत र कर्जा ०.४२ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४३ पैसा बढेर २२ रुपैयाँ ३२ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.८७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यसैगरी मेगा बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षमा २१ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षमा कमाएको नाफा २१.७८ प्रतिशतले बढी हो ।

बैंकको नाफा सँगै वितरणयोग्य नाफामा पनि आकर्षक बृद्धि देखिएको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रुपैयाँ छ । खुद ब्याज आम्दानी २ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा घटेका छ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन १२.१२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार ७.५९ प्रतिशतले बढाएको छ । हाल १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा प्रतिसेयर नेटवर्थ १४२.५२ रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स