बैकर्स संघको निर्णय मिच्दै निक्षेप जोह गर्ने अस्वस्थ प्रतिस्पर्धामा एनआईसी एशिया, संघले काट्यो स्पष्टिकरणसहितको पत्र

काठमाडौं । नेपाल बैकर्स संघका कार्यसमितिका सदस्य समेत रहेका एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले संघले गरेको भद्र सहमति तोडेका छन् । उनले बैकर्सबीच भएको ब्याजदर सम्बन्धी निर्णयलाई तोडेर अस्वस्थ प्रतिस्पर्धा गर्दै बढी ब्याज तिरेर निक्षेप संकलन गरेका हुन् ।

उनले व्यक्तिगत १३ प्रतिशतभन्दा बढी निक्षेप तिरेको उजुरी बैंकर्स संघमा परेको छ । यसअघि पनि ब्याजदरको विषयलाई लिएर संघ र एनआईसी एशियाबीच विवाद भएको थियो ।

एनआईसी एशिया बैंकले भद्र सहमति तोडेपछि नेपाल बैकर्स संघले स्पष्टिकरणका लागि पत्र काटेको छ । सहमतिका खिलापमा गएर एनआईसी एशियाले संघको सहमतिभन्दा बढी ब्याजदर दिएर निक्षेप तान्ने अस्वस्थ प्रतिस्पर्धा गरेकोमा संघले ध्यानाकर्षण भएको हो ।

एनआईसीले गरेको यो अस्वस्थ प्रतिस्पर्धाका विरुद्धमा सदस्य बैंकहरूले अन्तर बैंक कारोबार समेत नगर्न चेतावनीसहितको पत्र पठाएको हो । एनआईसी एशिया बैंकले केही व्यक्तिको निक्षेपमा १३.०३ प्रतिशत ब्याजमा रकम उठाएको प्रमाणसहितको उजुरी संघमा परेपछि प्रमाणका आधारमा संघले यस्तो कदम चालेको हो ।

संघले बिहीबार एनआईसी एशिया बैंकलाई पत्र पठाएर नियमविपरित तोकिएको भन्दा बढी ब्याजदर लिएकोमा आपत्ति जनाएको हो । अहिले बैंकहरूले व्यक्तिगततर्फ एक वर्षको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याजदर दिने गर्छन् । रेमिट्यान्स खाता अन्तर्गत १२.०३ प्रतिशत ब्याजदर दिन पाउने व्यवस्था छ ।

साउन महिनामा पनि एनआईसी एशियाले सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनालगायतबाट १० अर्बभन्दा बढी निक्षेप संकलन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स