एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारण सभा सम्पन्न, ५५ प्रतिशत लाभांश पारित

काठमाडौं । एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले सभा क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न गरेको हो ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आ.व. २०७८/०७९ मा १२ करोड ८ लाख खुद मुनाफा आर्जन गरी प्रति सेयर आम्दानी ६०.३९ रूपैयाँ कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराएका थिए ।

उनले क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल संचालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना संचालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ५७३ जना ग्राहकहरुबाट १ अर्ब ६७ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको व्यहोरा सभालाई जानकारी गराए ।

क्यापिटलले संचालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो सेयरधनीलाई १४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराए ।

क्यापिटलले डिम्याट खाता र मेरो सेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

क्यापिटलले काठमाण्डौ उपत्यका भित्र किर्तिपुर, चावहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ । साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति लिएको जनाएको छ।

क्यापिटलले हाल सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स