निक्षेप बढेसँगै बैंकहरु कम्फर्टेबल पोजिसनमा : नबिल, सेन्चुरी र नेपाल बैंकको सीडी भने सीमाभन्दा माथि

काठमाडौं । वाणिज्य बैंकमा रहेको निक्षेप र कर्जा दुवैमा बढोत्तरी आएको छ । साउनको अन्तिम ४ दिनमा बैंकमा रहेको निक्षेप करिब १३ अर्बले र कर्जा करिब डेढ अर्ब रुपैयाँले विस्तार भएको देखिन्छ ।

कर्जा विस्तारको मात्रा निक्षेपभन्दा निकै कम हुँदा बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज स्थितिमा छ । सेन्चुरी, नबिल र नेपाल बैंकबाहेक सबै बैंकले सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमाभन्दा कमै राखेर बिजनेस गरिरहेका छन् ।

निक्षेप विस्तार हुने देखिएको कारण बैंकहरुले कर्जा प्रवाह पनि सहज बनाएका छन् । बैंकहरुले सीडीमा रहेको स्पेस सदुपयोग गरिरहेका हुन् । राष्ट्र बैंकले बर्जित गरेको बाहेक क्षेत्रमा मिलेसम्म कर्जा दिइरहेका पनि छन् ।

बैंकमा निक्षेप आउन थालेसँगै उनीहरुले ब्याजदर बढाउन आवश्यक मानेका छैनन् । फलस्वरुप बैंकहरुले साउनकै ब्याजदर लागु गरिसकेका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार ४ दिनमा निक्षेप १२ अर्ब ८० करोड रुपैयाँ र कर्जा १ अर्ब ३९ करोडले विस्तार भएको थियो । अघिल्लो साता निक्षेप २५ अर्बले घट्दा कर्जा ९ अर्ब रुपैयाँले बढेको छ ।

यससँगै लामो समयपछि बैंकहरु कर्जा दिन सक्ने अवस्थामा पुगेका हुन् ।

नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार उनीहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) अधिकतम ९० प्रतिशतमात्र पार्न पाउने भएकाले उनीहरुलाई कर्जा विस्तार गर्न असहज अवस्था थियो । चालु आर्थिक वर्षको २७ दिनमा निक्षेप भारी मात्राले घट्दा पनि उनीहरुको सीडी रेसियो ८८.३५ प्रतिशत थियो जुन अन्तिम ४ दिनमा केही सहज भएर ८८.०७ प्रतिशतमा ओर्लिएको हो ।

यसो त साउन सुरु भएयता साउन २० को सप्ताह अन्त्यमा सीडी सबैभन्दा कम ८७.६९ प्रतिशत थियो ।

असार मसान्तमा वाणिज्य बैंकहरुमा रहेको कुल निक्षेप इतिहासकै सबैभन्दा बढी ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ पुगेको थियो । त्यसयता निक्षेप हरेक साता घटेर ४४ खर्ब २० अर्ब ५६ करोडमा ओर्लिएकोमा अन्तिम साता बढेको हो ।

तर, बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका छन् । अर्थात् उनीहरु निक्षेपका लागि थप दौडधुप गर्नु नपर्ने मनस्थितिमा पुगेका हुन् ।

यसो त कर्जा प्रवाहका लागि नेपाल राष्ट्र बैंकले चारैतिरबाट कस्दा बैंकहरुलाई व्यवसाय विस्तारको सानो स्पेस छ । केन्द्रिय बैंकले ताकेरै सेयर धितो कर्जा, घरजग्गा र गाडी तथा अनावश्यक वस्तु आयातका लागि दिइने कर्जा कडाई गरेको छ ।

तर, सीडीमा उपलब्ध स्पेसले अत्यावश्यक ठाउँमा कर्जा बढाउने सक्ने संकेत गरेको छ । यही बुझाइका साथ बैंकहरुले निक्षेप तत्कालका लागि निक्षेपको ब्याज नबढाउने निर्णय गरेका हुन् । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघलाई साथ दिँदै विकास बैंक र फाइनान्स कम्पनीहरुका संघले पनि ब्याजदर नबढाउने निर्णय गरिसकेका छन् ।

गत असार मसान्तसँग तुलना गर्दा साउनमा निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँ कम भएको हो भने कर्जा १ अर्ब ६८ करोडले बढेको हो ।

नबिल, सेन्चुरी र नेपाल बैंकको सीडी ९० प्रतिशत माथि
संघका अनुसार सेन्चुरी, नबिल र नेपाल बैंकको सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि छ । उनीहरुले निर्देशन अवज्ञा गर्दे बढी कर्जा दिएका हुन् ।

संघका अनुसार सेन्चुरीको सीडी ९१.६३ प्रतिशत छ भने नबिलको ९०.९२ प्रतिशत र नेपाल बैंकको ९०.७२ प्रतिशत छ ।

ग्लोबल आईएमई, हिमालयन, कुमारी, एनसीसी, प्राइम र राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो पनि ८९ प्रतिशतभन्दा बढी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स