भदौमा पनि बैंकको ब्याज नबढाउने बैंकर संघले गर्यो निर्णय

काठमाडौं । भदौ महिनामा पनि बैंकको ब्याज नबढ्ने भएको छ । बैकर्स संघको आज बिहान बसेको बैठकले भदौ महिनामा पनि हाल कै ब्याजलाई यथावत राख्ने निर्णय गरेको हो ।

चालु आर्थिक वर्ष लागेपछि १ खर्ब २२ अर्ब निक्षेप बाहिरिएकोले भदौ महिनामा पनि ब्याज नबढाउने निर्णय गरिएको संघका एक पदाधिकारीले बताए । ‘चालु आर्थिक वर्ष लागेपछि धेरै निक्षेप बाहिरिएकोले हाललाई ब्याजदर नबढाउने निर्णय गरिएको हो,’ ती पदाधिकारीले भने ।

गत आर्थिक वर्षमा यसै पनि बैंकहरूको खर्च बढेको छ । ब्याजदर बढाउँदा अझ खर्च बढ्ने देखिएपछि बैंकहरूले यस्तो सहमति गरेको हुन् । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलना ६२.३९ प्रतिशतले बैंकको खर्च बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा १२६.३५ प्रतिशत रहेको बैंकहरू कष्ट अफ फण्ड गत आर्थिक वर्षमा आईपुग्दा १८८.७४ प्रतिशत पुगेको छ । अब बढ्ने ब्याजले अझ खर्च बढाउने भएपछि बैंकहरूले गत फागुन महिनादेखि ब्याज बढाएका छैनन् ।

संस्थागत मुद्दतीमा भने राष्ट्र बैंकले तोकेअनुसार व्यक्तिगतमा भन्दा २ प्रतिशत कम अर्थात् ९.०३ प्रतिशत ब्याजदर तोकिनेछ । वाणिज्य बैंकहरूले गत माघको तुलनामा फागुन महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर (१०.०३ प्रतिशत) को १ प्रतिशतले बढाएर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए । वाणिज्य बैंकहरुका निक्षेपकर्ताले चैत, वैशाख, जेठ, असार र साउनमा सोही दरमै ब्याज पाएका थिए ।

अब भदौ महिनामा पनि सोही दरमा ब्याज पाउने निश्चित भएको छ । रेमिट्यान्स खातामा भने बैंकहरूले अधिकतम ब्याजदरको १ प्रतिशत बढी दिन पाउने हुँदा १२.०३ प्रतिशत ब्याजदर ग्राहकले पाउने छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी महिानादेखि बैंकको ब्याजदर बढाउनु पर्ने आवश्यकता औल्याइ रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स