काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । बुधबार कम्पनीको ३० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता २२१४.६२ रूपैयाँ कायम भएको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता २८७९ रुपैयाँ थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको आज साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । साउन २४ गतेसम्म कायाम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले आफ्नो २७ औं वार्षिक साधारणसभा आउँदो भदौ ६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
लाभांश वितरण पश्चात कोषको चुक्तापूँजी ४ अर्ब २५ करोड पुग्नेछ। हाल कोषको चुक्तापूँजी ३ अर्ब २७ करोड रहेको छ।