काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा बैंकले ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नबिल बैंकले गत असारमा बंगलादेश बैंकलाई गाभेको थियो ।
बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ९ अर्ब १२ करोड रुपैयाँ छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिलले रिर्जभबाटै ५ अर्ब ७४ करोड रुपैयाँ (विजनेश कम्वाइन) प्राप्त हुँदा वितरण योग्य नाफा ९ अर्ब नाघेको हो । सो अवधिमा चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ कायम हुँदा बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई ३९. ९४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६.२५ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी २.३७ प्रतिशत र सञ्चालन मुनाफा १३.९८ प्रतिशत बढेको छ ।
नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ३६ पैसा घटेर २१ रुपैयाँ ७८ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.८१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ३७ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६४.९२ प्रतिशत बढेको छ भने जगेडा कोष ४८.६५ प्रतिशत बढेको छ । बैंकको निक्षेप ४५.९८ प्रतिशत र कर्जा ५२.०४ प्रतिशत बढेको छ ।