राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरेको छ । बैंकले लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उप महानगरपालिका कार्यालय परिसरमा उक्त एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको हो ।

एक्सटेन्सन काउन्टरको समुद्घाटन बुटवल उप महानगरपालिका का प्रमुख खेलराज पाण्डेले गरेका थिए । कार्यक्रममा उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल बजार व्यवसायीक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबार लगायत व्यवसायीक कारोबार समेतको माग रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व संकलन गर्ने योजना रहेको बताए ।

शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिनेश गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तब्य तथा उप प्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

सो अवसरमा विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष उज्वल कसजु, शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक सुरेन्द्र यादब, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स