प्रभु बैंकको नाफा ५१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.११ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत र सञ्चालन मुनाफा ४७.७५ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको ३८ करोड ७९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष २३.८२ प्रतिशत बढेको छ । बैंकको निक्षेप ८.३७ प्रतिशत र कर्जा ८.०३ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ३० पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स