११ महिनामा बैंकहरूको खुद नाफा साढे ७२ अर्ब, कुन बैंकको नाफा कति(सूचीसहित)

काठमाडौं । चालु आािर्थक वर्ष साउनदेखि असारसम्म देशमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले ७२ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले १ महिनामा ७ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएका छन् ।

यहि अनुपातमा बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने हो भने यो आवमा नाफा बढेर ८० अर्ब पुग्ने देखिएको छ । गत आर्थिक वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूले ७० अर्ब २८ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक अनुसार २०७८ साउन महिनादेखि २०७९ जेठ महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ९५ करोड ४१ लाख खुद नाफा कमाएका हुन् ।

समीक्षा अवधिमा विकास बैंकहरूले ६ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो महिना वैशाखसम्म ५ खर्ब ७७ अर्ब नाफा कमाएका थिए । यो अवधिमा फाइनान्स कम्पनीहरूले कुल १ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका छन् ।

ग्लोबल सबैभन्दा बढी नाफा कमाउने बैंक
ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले चालु आवको जेठसम्म ४ अर्ब ८५ करोड नाफा कमाएको हो । बढी नाफा कमाउने दोस्रो बैंकमा एनआईसी एसिया परेको छ छ । बैंकले चालु आवाको समीक्षा अवधिमा ४ अर्ब ५९ करोड खुद नाफा आर्जन गरेको छ भने बढी नाफा कमाउने तेस्रो बैंकको सूचीमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक परेको छ ।

बैंकले यो अवधिमा ३ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ । नबिल बैंकको खुद नाफा ३ अर्ब ८२ करोड, प्राइम कमर्शियल बैंकको खुद नाफा ३ अर्ब ५४ करोड, र एनएमबि बैंकको ३ अर्ब ३४ करोड रहेको छ ।

११ महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब २२ करोड, नेपाल बैंकको खुद नाफा २ अर्ब ९१ करोड, सिद्धार्थ बैंकको खुद नाफा २ अर्ब ८२ करोड तथा मेगा बैंकको खुद नाफा २ अर्ब ५७ करोड रहेको छ ।
त्यस्तै कुमारी बैंकको खुद नाफा २ अर्ब ३६ करोड, कृषि विकास बैंकको खुद नाफा २ अर्ब १४ करोड, सानिमा बैंकको खुद नाफा २ अर्ब २ करोड र सिटिजन्स बैंकको खुद नाफा २ अर्ब १ करोड रहेको छ ।

२ अर्बभन्दा कम कमाउने बैंकमा एनसीसी बैंकको खुद नाफा १ अर्ब ९९ करोड, हिमालयन बैंकको १ अर्ब ९८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९३ करोड, एभरेष्ट बैंकको १ अर्ब ९० करोड, सनराइज बैंकको १ अर्ब ७३ करोड, माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ६८ करोड र प्रभु बैंकको खुद नाफा १ अर्ब ६५ करोड रहेको छ ।

डेढ अर्ब भन्दा कम खुद नाफा कमाउने ६ वटा बैंक रहेका छन् । जस लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ४३ करोड, नेपाल एसबिआई बैंकको खुद नाफा १ अर्ब ४२ करोड, सेन्चुरी बैंकको १ अर्ब २९ करोड , नेपाल बंगलादेश बैंकको १ अर्ब २७ करोड, बैंक अफ काठमाडौँको १ अर्ब २५ करोड र सिभिल बैंकको खुद नाफा १ अर्ब २१ करोड रहेको छ ।

यी बैंकहरूमध्ये नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरिसकेको छ भने बैंक अफ काठमाण्डू र ग्लोबल बैंक मर्ज हुनका लागि सहमति गरिसकेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक पनि मर्ज हुँदैछ भने आजैमात्र हिमालय बैंक र सिभिल बैंक पनि मर्जरमा जाने सहमति गरिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स