७ दिनमा ६२ अर्बले बढ्यो निक्षेप, असार महिनामा उठाए बैंकहरूले १९ अर्ब ऋण

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरूमा निक्षेप ह्वात्तै बढेको छ भने सोही कर्जा अनुपात बढ्न सकेको छैन । असार महिनाको १७ गतेदेखि २४ गतेसम्म ६२ अर्ब रुपैयाँले निक्षेप बढेको छ भने यो अवधिमा १० अर्ब रुपैयाँले कर्जा घटेको छ । पछिल्लो समय बैंकमा दैनिक औसतमा ८ अर्ब ८५ करोड रुपैयाँले निक्षेप संकलन भइरहेको छ ।

पहिलो हप्ताको तुलनामा दोस्रो सातामा वाणिज्य बैंकहरूमा ३४ अर्ब निक्षेप थपिएको थियो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार १० गतेसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप असार १७ गतेसम्म आइपुग्दा ३४ अर्बले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । १७ गतेदेखि २४ गते आईपुग्दा बैंकको निक्षेप बढेर ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो साता वाणिज्य बैंकहरूले १० अर्ब कर्जा रिकभरी गरेका हुन् । संघको तथ्यांक अनुसार असार १० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह २ अर्बले बढेर असार १७ गतेसम्म आइपुग्दा ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ । असार १७ देखि २४ गतेसम्म आईपुग्दा कर्जा रिकभरी भएर ४१ खर्ब ७४ अर्बमा ओर्लिएको छ ।

असार पहिलो सातासम्म वाणिज्य बैंक ४३ खर्ब ९४ अर्ब थियो । दोस्रोसाता अर्थात ३ गतेबाट १० गतेपुग्दा ४ अर्बले निक्षेप बढेर ४३ खर्ब ९८ अर्ब पुग्यो भने १७ गतेसम्मको ७ दिनमा ३४ अर्बले निक्षेप बढेको छ । असार २४ गतेसम्म बैंकमा निक्षेप बढेर ४४ खर्ब ९४ अर्ब पुगेको छ ।

त्यसैपनि असार महिना रिकभरीको महिना भएकोले यो अवधिमा बैंकहरूको कर्जा घटेको हो । अर्थात यो अवधिमा ऋणीले १९ अर्ब कर्जा तिरेका छन् । जेठ अन्तिम अर्थात ३१ गतेसम्म वाणिज्य बैंकहरूले प्रवाह गरेको यस्तो कर्जा ४१ खर्ब ९३ अर्ब रुपैयाँको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स