सबै सुचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने गरि एकिकृत कारोबार शुरु गरेका छौं :सीइओ ढुंगाना

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई आजबाट एकीकृत कारोबार शुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो ।

‘क’ वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको छ ।

‘नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दे बैक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिवृद्धि गर्न कदम चालेका हौं,’ बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए ।

उनले बैंकिङ प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ क्षेत्रको स्थायित्व टेवा पुर्याउने बताए । बैंक ठूलो भए सँगै बैंकिङ प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिवृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्ने लक्ष्य लिइएको उनले बताए ।

‘हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरुको हित संरक्षण गर्ने, देशव्यापी शाखाहरुको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने, पूँजीगत आधार सुदृढ गरीे सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भुमिका खेल्ने नीती लिनेछौं । साथसाथै सबै सुचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ आज बाट एकिकृत कारोबार शुरु गरेका छौं,’ उनले थपे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स