नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्दान्तिक सहमति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई एक आपसमा मर्जमा जानको लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ । दुवै बैंकलाई असार २२ गते (बुधबार) मर्जरको लागि राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले स्वाप रेसियो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेका हुन् । जसमा मेगा बैंकको ९० र इन्भेष्टमेन्ट बैंकको १०० अनुपातमा मर्ज गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने छन् ।

मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले गत वर्ष बैशाखमा मर्जरमा जाने सहमति गरेका थिए ।

तर,हिमालयन बैंकको साधारणसभाले मर्जरमा जाने प्रस्ताव विशेष साधारणसभाबाट अस्वीकृत गरेको थियो ।

अहिले दोस्रो बजारमा मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता २२६ रुपैयाँ छ ।

यस्तै एक वर्षपछि कारोबार खुलेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य भने नकारात्मक सर्किट लागेर घट्दो क्रममा छ । नेपाल इन्भेष्टमेन्टको सेयर मूल्य २६५ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८० अर्ब निक्षेप छ ।

मेगा बैंकसँग १ खर्ब ४७ अर्बको निक्षेप छ । कर्जा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७३ अर्ब छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब रहेको छ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । स्वाप रेसियो मिलान गर्दा मर्जरपछि बन्ने बैंकको चुक्ता पूँजी करिब ३२ पुग्ने देखिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स