नबिल र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने मिति तय भएको छ । नबिल बैंकले एनबी बैंकलाई एक्वायर गरेपश्चात एकिकृत कारोबार गर्न लागेको हो । नबिल बैंकको स्थापना दिवस पारेर बैंकले एकीकृत कारोबार सुरु गर्न लागेको हो । नबिल बैंकको स्थापना दिवस जुलाई १२ तारिख हो ।

दुवै बैंकको गत जेठ ७ गते सम्पन्न विशेष साधारण सभाले नबिल बैंकले एनबी बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको थियो । एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्रदान गरेको हो । योसँगै बैंकले आफ्नो आन्तरिक प्रक्रिया मिलाएर एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

नबिल बैंकले एनबी बैंकलाई १००ः ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । यो भनेको एनबी बैंकको १०० कित्ता बराबरको सेयर नबिलमा गाभिएपछि ४३ कित्ता हुनेछ । नबिल बैंकमा असार १७ गतेदेखि प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना रहेका छन् । अनिल केशरी शाहको असार १६ गतेदेखि ४ वर्षे कार्यकाल सकिएको छ ।

गाभिने प्रकृया पुरा भए पछि नबिल बैंकको निक्षेप २ खर्ब २१ अर्ब तथा कर्जा ३ खर्ब ७ अर्ब नाघ्नेछ भने कुल शाखा संख्या २३४ पुग्नेछ । नबिलले एनबीलाई गाभेपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स