काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ‘ओम्नी च्यानल’ प्रणालीमा आधारित मोबाइल बैंकिङ एप शुभारम्भ गरेको छ ।
बैंकले यस ओम्नीच्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको सुरुवात गरेको हो ।
हालका एनआइसी एशिया मोबाइल बैकिङ एप प्रयोगकर्ताहरूले वर्तमान एनआइसी एशिया मोबाइल बैकिङ एपलाई अपडेट गरी ओम्नी च्यानलमा स्तरोन्नति गर्न सक्नेछन् भने नयाँ ग्राहकहरूले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।
‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानल एपबाट बैंकका ग्राहकहरूले अधिकतम बैंकिङ सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ ।
स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगायतका धेरै भन्दा धेरै बैंकिङ सेवाहरू ओम्नी च्यानल एपमार्फत डिजिटल प्राप्त गर्न सक्नेछन् । साथै, यस बैंकमा खाता नभएकाले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
जसबाट समेत क्युआर भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत अनेकौं सेवा लिन सकिनेछ । ग्राहकको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको छ ।