११ महिनामा राष्ट्र बैंकले कर्मचारी दायित्वमा खर्च पौन ३ अर्ब

चलन चल्तीमा छन् ६ खर्ब ९ अर्ब २८ करोड रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा कर्मचारी दायित्वमा २ अर्ब ७२ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ । बैंकले आफू मातहतका कर्मचारीको तलव, भत्ता, सेवासुविधामा सो रकम खर्च गरेको हो । वैशाख महिनासम्म यस्तो दायित्व २ अर्ब ७२ करोड ३० लाख रुपैयाँ थियो । एक महिनामा ५८ लाखले बढेर सो दायित्व पुगेको हो ।

गभर्नर महाप्रसाद अधिकारीको वार्षिक तलब १३ लाख ९४ हजार ४०० रुपैयाँ र भत्ता ३२ लाख ६२ हजार ४०० रहेको राष्ट्र बैंकको वार्षिक वित्तीय विवरणमा उल्लेख छ । गभर्नरले वार्षिक ५० लाखभन्दा बढी राष्ट्र बैंकबाट बुझ्ने गरेका छन् ।

उता वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाको वार्षिक तलब प्रति १२ लाख १५ हजार र भत्ता २३ लाख ६३ हजार ७२४ रुपैयाँ अन्य भत्ता र सुविधा गरी कुल वार्षिक ३६ लाख ५८ हजार ७ सय २४ रुपैयाँ राष्ट्र बैंकबाट बुझेकी छन् ।

डेपुटी गभर्नर बमबहादुर मिश्रको वार्षिक तलब ११ लाख ३७ हजार ६०० रुपैयाँ छ । उनले अन्य भत्ता र सूविधा बापत राष्ट्र बैंकबाट २२ लाख ६२ हजार २४१ रुपैयाँ बुझ्ने गरेका छन् । उनले वार्षिक ३४ लाख ७९ हजार ८४१ रुपैयाँ लिने गरेका छन् ।

चलन चल्तीमा छन् ६ खर्ब ९ अर्ब २८ करोड नोट

नेपाली बजारमा हाल ६ खर्ब ९ अर्ब २८ करोड ५७ लाख रुपैयाँ चलनचल्तीमा रहेको छ । जेठ अन्त्यमा चलनचल्तीमा रहेको नोट वैशाखकोभन्दा कम हो ।

वैशाख महिनाको तुलनामा जेठमा बजारमा चलनचल्तीमा रहेका पैसा कम भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘बजारमा चलनचल्तीमा रहेको पैसा १ महिनामा २६ अर्बभन्दा बढीले घटेको राष्ट्र बैंकको वित्तीय विवरणले देखाएको छ,’ उनले भने ।

वैशाख महिनामा बजार ६ खर्ब ३५ अर्ब ९० करोड ९४ लाख रुपैयाँ चलनचल्तीमा रहेको थियो । अहिले बजारमा चलनचल्तीमा रहेको नोट घट्दै गएको छ ।

१ महिनाको अवधिमा बजारमा चलनचल्तीमा रहेको नोट २६ अर्ब ६२ करोड ३७ लाख ४१ हजारले घटेको छ । बजारमा चलन चल्तीमा रहेको नोट १ महिनाको अवधिमा कहाँ गयो, यसको खोजी निधि भएको छ ।

यति थोरै समयमा बजारबाट नोट कहाँ जान सक्छ त भन्ने प्रश्न अहम हो । यो नोट बैंक तथा वित्तीय संस्थामा नफर्किए पछि कसै–कसैको घरको ढुकुटीमा गएर बसेको हुन सक्ने अनुमान सहजै लगाउन सकिन्छ । नत्र एक महिनामा यो नोट कहाँ गयो, एका एक बजारबाट कसरी हरायो यसको खोजी निधि हुन आवश्यक छ ।

हाल राष्ट्र बैंकसँग नगद तथा नगद समान गरी ४ खर्ब ४ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ सम्पत्ति रहेको छ । वैशाख महिनामा यस्तो नगद तथा नगद समान ४ खर्ब ९५ अर्ब ७८ करोड रुपैयाँ थियो । यो १ महिनाको अवधिमा बजारमा चलन चल्तीमा रहेको नोट र राष्ट्र बैंकसँग भएको नगद तथा नगद समान पनि घटेको छ ।

त्यसरी नै हाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाको १ खर्ब ६२ अर्ब ६१ करोड ४९ लाख रुपैयाँ निक्षेप रहेको छ । जेठ महिनामा आएर करिब १ अर्बले निक्षेप बढेको छ । वैशाख महिनामा यस्तो निक्षेप १ खर्ब ६१ अर्ब २२ करोड ६८ लाख रुपैयाँ थियो ।

यस्तो छ राष्ट्र बैंकको दायित्व तथा पुँजीको अंश

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स