काठमाडौं । नबिल बैंकले काभ्रेको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।
पनौती नगरपालिकामा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भिम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
पाँचखाल नगरपालिकामा बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
उक्त साझेदारीमार्फत् नगरपालिकाहरुले स्थानियस्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने छ ।
त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक बर्षमा सफलताका कथाहरु सुन्न आतुर भएको बताए ।
त्यस्तै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले नबिल बैंक दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्याइ नगरपालिकाका विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
पाँचखालमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा संगै हातेमालो गर्ने बताइन् । ।