राष्ट्र बैंकले बैंकका सीईओलाई बोलाएर दियो आधा दर्जनभन्दा बढी निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएर कर्जाको ब्याजदर नबढाउन कडा निर्देशन दिएको छ । राष्ट्र बैंकले नियम विपरित कर्जाको ब्याजदर नबढाउन आज निर्देशन दिएको हो । राष्ट्र बैंक उच्च अधिकारीले २७ वटा वाणिज्य बैंकका सीइओलाई बोलाएर कम्प्लाइन्स कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

असार मसान्तसम्म कायम गर्नुपर्ने सीडी रेसियो, प्रोभिजन, ब्याजदरका विषयलाई लिएर राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरूले बैंकका सीईओहरूलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंकका सीईओहरूलाई सीडी रेसियो संशोधन नहुने भन्दै असार मसान्तसम्म सीडी रेसियोको सीमा ९० प्रतिशतमा झार्न पनि निर्देशन दिएको छ । सीडी रेसियोका सम्बन्धमा कुनै नीति परिवर्तन नहुने भन्दै सयम सीमाभित्र निर्देशित सीमामा झार्न भनेको छ । ।

राष्ट्र बैंकले अहिले १५ बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि भएको भन्दै यसलाई समय सीमाभित्र निर्देशित क्यापसम्म झार्न पनि निर्देशन दिएको छ । हाल ७ वटा बैंकको ९२ प्रतिशतभन्दा माथि सीडी रेसियो रहेको छ । यसबाहेक प्रोभिजनको व्यवस्थाले पुँजीकोष अनुपातमा दवाव पर्ने देखिएको समेत राष्ट्र बैंकले बैंकरलाई सूचित गराएको थियो ।

राष्ट्र बैंकले स्थगित गरेको काउन्टर साइलिङ बफर समेत आउने वर्षदेखि लागू गर्ने छ । केही कर्जामा जोखिम भार समेत असार मसान्तदेखि लागू हुने गरेर बढाएको हुँदा पुँजीकोषमा थप दवाव पर्ने बताएको हो ।

राष्ट्र बैंकले मर्जरको लागि असार मसान्तसम्ममात्र छुटको लागि सीमा भएको जानकारी बैंकका सीइओलाई दिएको छ । यसबाहेक राष्ट्र बैंकले स्थानीय तहको पैसा निक्षेपको रुपमा देखाउन पाइने व्यवस्था असारसम्मको लागि मात्र लागू हुने हुँदा सो अनुसारको व्यवस्था कार्यान्वयन गर्न भनेको छ ।

बैंकका सीईओहरूलाई वित्तीय विवरणमा नाफालाई केन्द्रमा राखेर नबनाउन पनि सुझाएको छ । ‘प्रोभिजनका नियमहरू सबै कार्यान्वयन होस्, यसमा तलमाथि भयो भने राष्ट्र बैंकले त्यसमा एक्सन लिने पनि बैठकमा सहभागी एक सीईओले बताए ।

राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिना तथा बमबहादुर मिश्र सहित नियमन विभागका प्रमुख गुणाकर भट्ट तथा सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकाल तथा विदेशी विनिमय विभागका प्रमुख गुरु पौडेलको सहभागिता थियो भने बैंककातर्फबाट नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायलगायत अधिकांश सीईओहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स