नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता भोलि, यस्तो छ बैंकको स्वाप रेसियो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भोलि शुक्रबार मर्जरसम्बन्धी सम्झौता हुने भएको छ । हिमालयन बैंकसँग मर्जर सम्झौता भाडिएको नेपाल इन्भेष्टमेन्ट बैंकले पछिल्लो समय आधा दर्जन बैंकसँग मर्जरका लागि प्रस्ताव राखेको थियो । सोही अनुरुप भोलि यी दुई बैंकबीच मर्जर सम्झौता हुन लागेको एक हो । मर्जरपछि बैंकको नयाँ नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुनेछ ।

बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत इन्भेष्टमेन्ट बैंककै हुनेछ । हाल मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृत पद रित्त छ । मर्जरपछि बन्ने बैंकमा पृथ्वीबहादुर पाण्डे र ज्योतिप्रकाश पाण्डे रहने छन् । इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर बराबर मेगा बैंकको सय कित्ता शेयरको अनुमातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको बताउँदै यथासिघ्र एकीकृत कारोबार सुरु गर्नेगरी सम्झौता हुन लागेको हो ।

इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ । इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीचको स्वाप रेसियो १ः १ रहने गरी मर्जरमा जाने सहमति हुन लागेको हो ।

यी दुई बैंकको एक बराबर एक स्वाप रेसियो कायम भए चुक्ता पुँजी ३४ अर्ब रूपैयाँ पुग्नेछ । स्वाप रेसियोको टुंगो भने सम्पत्ति मूल्यांकन प्रतिवेदन (ड्यु डेलिजेन्स रिपोर्ट) ले गर्नेछ। मर्जर सम्भव भए त्यसपछि बन्ने बैंकको कुल निक्षेप संकलन ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्नेछ ।

हाल इन्भेस्टमेन्ट बैंकको कर्जा प्रवाह १ खर्ब ६५ अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ । त्यस्तै इन्भेस्टमेन्टको निक्षेप संकलन १ खर्ब ८० अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ । इन्भेष्टमेन्ट बैंकमा ज्योति पाँडे प्रमुख कार्यकारी अधिकृत छन् भने मेगामा रविना देशराजले नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरिरहेका छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स