काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । उनीहरुबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापछि दुईवर्ष सेवाअवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५ लाख रुपैंयासम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ ।
बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६.९७ प्रतिशत रहेको छ । सम्झौता अनुसार पुनर्बीमा कम्पनीको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए ।
देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।