वाणिज्य बैंकलाई उछिन्यो मुक्तिनाथ विकास बैंकले, विकास बैंकको नाफा ६ अर्ब माथि

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा विकास बैंकहरूले राम्रो कमाइ गरेका छन् । मुक्तिनाथ विकास बैंकले त आफ्नो नाफा बढाएर विकास बैंकलाई समेत उछिनेको छ । नारायणी विकास बैंकको नाफा घटेको छ ।

मुक्तिनाथ विकास बैंकको नाफा गत आवमा १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जुन नाफा सिभिल, सेञ्चुरी र नेपाल एसबिआई बैंकको भन्दा बढी हो । गरिमा विकास बैंकले आफ्ना सेयरधनीहरूलाई ८६ करोड ५ लाख रुपैयाँ लाभांशको रुपमा वितरण गर्ने भएको छ ।

मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । नाफ कमाउनेमा मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा रहेपनि प्रतिसेयर आम्दानीमा भने दोस्रो स्थानमा छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा छ ।

समग्रमा गत आवका १२ विकास बैंकहरूले ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ नाफा कमाएका छन् । विकास बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आवमा बैंकहरुले नाफा ६४.९१ प्रतिशतले बढेको छ । विकास बैंकहरूको नाफा बढेसँगै वितरणयोग्य नाफा पनि बढेको छ । गत आवमा विकास बैंकहरूको वितरणयोग्य मुनाफा ४ अर्ब २८ करोड ५ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष विकास बैंकहरूले ३ अर्ब ६७ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आवमा बैंकहरूले कमाएको नाफा २ अर्ब ३८ करोड ५८ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षमा मुक्तिनाथपछि गरिमा विकास बैंकको नाफा बढी छ । गरिमा विकास बैंकले गत आवमा ८२ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । सो अवधिमा ज्योति विकास बैंकको नाफा ७४ करोड १६ लाख रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकको नाफा ७३ करोड २९ लाख रुपैयाँ रहेको छ ।

त्यसरी नै कामना सेवा विकास बैंकको ७० करोड २ लाख, लुम्बिनी विकास बैंकको नाफा ५१ करोड ६२ लाख, साइन रेसुरुङ्गा विकास बैंकको ५१ करोड ४५ लाख, साग्रिला विकास बैंकको ४१ करोड ६९ लाख, मैत्री विकास बैंकको १५ करोड ५५ लाख र एक्सेल विकास बैंकको नाफा १३ करोड ७० लाख रुपैयाँ रहेको छ ।

बाँकी विकास बैंकको नाफा भने १० करोडभन्दा कम रहेको छ । १० करोडभन्दा कम नाफा आर्जन गर्ने बैंकहरूमा सप्तकोशी, कर्णाली, सिन्धु, सहारा, ग्रीन, कर्पोरेट विकास बैंक रहेका छन् ।

नारायणी विकास बैंकको भने गत आवमा नाफा नै घटेर १ करोड ८ लाखमा सीमित भएको छ । यद्यपि उक्त विकास बैंकले आफ्ना सेयरधनीलाई २१ करोड ८३ लाख रुपैयाँ बाड्न सक्ने बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स