काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वषको १० महिनामा ४ खर्ब ७० अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूले कुल ३७ खर्ब २० अर्ब कर्जा प्रवाह गरेका थिए । चालु आवको साउनदेखि बैशाखसम्म वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा कुल कर्जा ४१ खर्ब ९१ अर्ब ४२ करोड पुगेको छ । वित्तीय बजारमा लगानी योग्य पुँजी अभाव हुँदा बैकहरूले लक्ष्य अनुसार पनि कर्जा विस्तार गर्न सकेको देखिदैन ।
नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत निजी क्षेत्रतर्फ १९ प्रतिशत विस्तार हुने लक्ष्य तय भएको थियो । यसको अर्थ चालु आवको अन्त्यसम्म निजीक्षेत्रतर्पmको कर्जा ७ खर्ब ६ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह हुनुपर्ने देखिनछ । १० महिनाको तथ्यांक हेर्दा अवको बाँकी दिनमा बैंकले अझै २ खर्ब ३६ अर्ब २७ करोड रुपैयाँ लक्ष्य अनुसारकै कर्जा विस्तार गर्नुपर्ने देखिन्छ ।
यद्यपि मंसिरदेखि नै बैंकहरूले कर्जा विस्तार गर्न नसकेपछि कर्जा खुम्चिएको छ । हालसम्म बैंकहरूले करिब १३ प्रतिशतमात्रै कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकको लक्ष्य अनुसार पुर्याउन चालु आर्थिक वर्षको अन्तिम २ महिनामा वाणिज्य बैंकहरूले अझै करिब २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्ने आवश्यकता देखिएको छ ।
बजेट मार्फत लिइएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नेपाल राष्ट्र बैंकले तय गरेको मौद्रिक औजारअनुसार जेठ र असारमा मासिक १ खर्ब रुपैयाँभन्दा बढीका दरले कर्जा प्रवाह गर्नसक्ने देखिएको छ । गत आवको अन्त्यबाट म वाणिज्य बैंकबाट प्रवाह भएको कर्जामा १९ प्रतिशत थप गर्दा आउने असार मसान्तसम्म यस्तो कर्जा ४४ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ पुर्याउनु पर्ने हुन्छ ।
गत आवको अन्त्यदेखि यो अवधिसम्म आईपुग्दा नेपाल बैंक र ग्लोबल आईएमई बैंकले अत्यधिक कर्जा विस्तार गरेका छन् । नेपाल बैंकले चालु आवमा मात्रै ३१ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ग्लोबल आईएमई बैंकले ३० अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चालु आवको २७ वटै बैंकहरूले कर्जा बढाएका छन् । गत चैतको तुलनामा भने बैंकहरूले ५ अर्ब ७० करोड रुपंैयाँले कर्जा घटाएका छन् ।
तर, वैशाख मसान्तसम्म वाणिज्य बैंकले ४ खर्ब ७० अर्ब ६७ करोड रुपैयाँ कर्जा थपेका छन् । अर्थात् बाँकी २ महिनामा वाणिज्य बैंकसँग २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा थप गर्नसक्ने स्पेस छ ।
गत असार मसान्तसम्म भएको कर्जा प्रवाहको तुलनामा सबैभन्दा बढी कर्जा विस्तार एनसीसी बैंकले गरेको छ । बैंकले १० महिनामा २४.३६ प्रतिशतले कर्जा बढाउन सफल भएको हो ।
यस्तै हिमालयन, लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड, सनराइज र नेपाल बैंकले पनि १९ प्रतिशतभन्दा बढीले कर्जा बढाइसकेका छन् ।
कर्जा विस्तार गर्नै नसक्ने बैंकको सूचीमा एनआईसी एशिया अग्र स्थानमा छ । बैंकले १० महिनामा ३.४८ प्रतिशतले मात्र कर्जा बढाउन सकेको छ ।