काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरूमा तरलता थपिन थालेको छ । बैशाख १६ गतेयता बैंकमा ३ अर्बभन्दा बढी निक्षेप थपिएको छ भने ७ अर्बभन्दा बढी कर्जा घटेको छ ।
यसको अर्थ वाणिज्य बैंकहरूमा ७ अर्बभन्दा बढी कर्जा घट्नु र ३ अर्बभन्दा बढी निक्षेप बढ्नु भनेको करिब १० अर्ब जति पुँजी बढ्नु भएको नेपाल बैकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बताए । यो राम्रो संकेत भएको उनले बताए ।
यसरी निक्षेप बढ्दै जाने हो अहिले वित्तीय क्षेत्रले भोगिरहेको समस्या पनि चाडै हल हुने देखिएको छ । ‘पछिल्लो ३/४ दिनयता बैंकमा ३ अर्बभन्दा बढी निक्षेप बढेको छ भने ७ अर्बभन्दा बढी कर्जा घटेको छ,’ उनले भने ‘हेरौ अझ सहजता बन्न भन्ने हाम्रो अनुमान हो ।’ सायद चुनावले होला पछिल्लो साता लोन पनि बढेको छैन ।
अब चुनाव सकिएपछि केही दिनमा घरघरमा थुप्रिएको पैसा पनि बैकिङ च्यानलमा आउने संघको बुझाइ छ । चैत र बैशाख महिनामा ब्याजदर यथावत राखेका बैंकहरूले जेठ महिनामा के गर्छन् भन्ने प्रश्नमा अध्यक्ष उपाध्यायले अझै १ साता समय भएको यस विषयमा पछि निर्णय गर्ने बताए ।
‘हामी तरलताको अवस्थालाई हेरेर ब्याजदर निर्धारण गछौं,’ उनले भने ‘ अहिले ( बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिन पनि सकिन्छ, बढ्न पनि सक्छ ।’ यस विषयमा बजारमा तरलताको अवस्था हेरेर छलफल गरी टुंगो लगाउने छौं । तर, आज भोलि नै भने ब्याजदरको विषयमा कुनै निर्णय नलिने उनले हाम्रोअर्थलाई जानकारी गराए ।
संघको बुझाइ अनुसार अहिले अधिकांश बचतकर्ताले बैंकबाट पैसा निकालेर घर–घरमा राखेका छन् । चुनाव सकिएपछि त्यो पैसा बैकिङ च्यानलमा आउँछ । चुनावमा भएको खर्च पनि आउँछ । अनि लगानी योग्य पुँजी केहि सहजता हुने आँकलन गरिएको छ । अहिले बैंकहरूको सीडी रेसियो अहिले पनि माथिल्लो विन्दु मै छ ।
त्यसो त नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूलाई ब्याजदर बढाउन ग्रीन सिंगल दिइसकेका छन् । केहि दिन अघि उनले एउटा कार्यक्रममा बैंकहरूले ब्याजदर बढाउने बताइसकेका छन् भने राष्ट्र बैंकले उठाउन लागेको बचत पत्रमा समेत उच्च ब्याज दिइएको छ । यसको अर्थ अब बैंकहरूलाई खुला रुपले ब्याजदर बढाउँदा हुन्छ भन्ने हो ।
यद्यपि गभर्नरले त्यसो भने पनि बैकर्सहरूले भने वित्तीय बजारमा स्थायित्व ल्याउन दुई महिनादेखि ब्याजदर यथावत राखेका छन् ।