दहचोकमा नबिल बैंकको शाखा विस्तार

काठमाडौं । पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका-१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ ।

यो सँगै बैंकको शाखा १४८ तथा एटिएम सेवा १८७ पुगेको छ । विसं २०४१ असार १२ गते स्थापना भएको सो बैंकले यस वर्ष १५४ शाखा पु¥याउने लक्ष्य राखेको छ ।

चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रुपमा आज यहाँ आयोजित कार्यक्रममा शाखा शुभारम्भ गरे ।

समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले स्थानीय समुदायका घर दैलोमा नै बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिए ।

उनले भने, ‘विभिन्न बैंक मर्ज गरेर बैंकको सेवालाई अझै विस्तार गर्ने अभियान जारी छ । ‘क्यासलेस’ अवधारणाअनुसार घरमै बसेर नागरिकले सेवा पाउने वातावरण निर्माणमा बैंक लागेको छ । सेवाग्राहीको पहिलो रोजाइको बैंक बनाउने अभियानमा लागेका छौं । ’

गत वर्ष युनाइटेड फाइनन्सलाई समाहित गरेको बैंकले एनबी बैंक मर्ज गरी थप सेवा दिने तयारी गरेको जनाइएको छ । चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले ३६ हजार घरधुरी र एक लाख ३५ हजार जनसङ्ख्या रहेको नगरमा वित्तीय क्षेत्रको माग बढ्दो क्रममा रहेको बताए ।

बैंकका नायब महाप्रबन्धक कृष्णदत्त भट्टराईले मुलुकमा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता महसुस गरेर स्थापना भएको नबिल बैंक जनताको विश्वासिलो बैंकका रूपमा रहेको दाबि गरे ।

कार्यक्रममा बैंकका दहचोक शाखा प्रमुख आश्विन श्रेष्ठले बैंकले सरल र सहज रुपमा सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने जानकारी दिए । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम गिरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स